काठमाडौंबाट रुकुमपश्चिम जाँदै गरेको बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते

काठमाडौंबाट रुकुमपश्चिम जाँदै गरेको बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते

परासी : दाउन्ने पहाडबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । ४९ यात्रु घाईते भएका छन् । काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित दाउन्ने पहाडको खुर्सानी खोलामा आज बिहान ७ बजे खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा परी २ महिला र २ पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले जानकारी दिए । मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन र सोही जिल्ला सिस्ने गाउँपालिका–४ का  ३६ वर्षीय धनराज घर्ती रहेका छन् । अन्य दुई जनाको सनाखत हुन सकेको छैन । 

बस पहाडबाट १ सय ५० मिटर तल खसेको हो । एकजना बसमै च्यापिएको अवस्थामा रहेकाले क्रेन बोलाएर निकाल्ने प्रयास भइरहेको छ । बसलाई रुखले अड्काएका कारण मानवीय क्षति बढी हुन नपाएको प्रहरीले जनाएको छ । 

घाइते सबैको अहिले चिसापानी अस्पताल बर्दघाटमा उपचारका लागि पठाइएको छ । केही गम्भीर छन् । सबैलाई तत्काल अस्पताल पठाइएकाले कति गम्भीर छन् भन्ने बारे केही समयपछि जानकारी दिइएने प्रहरी उपरीक्षक केसीले बताए ।  

काठमाडौंमा अलपत्र परेका रुकुम पश्चिमका स्थानीयलाई लिएर बस त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । बसमा ५८ जना यात्रु थिए ।

प्रतिक्रिया