घरैपिच्छे आचारसंहिता

घरैपिच्छे आचारसंहिता

दैलेख : भैरवी गाउँपालिकाकी १४ वर्षीया ममता शाही कक्षा ९ मा अध्ययनरत छिन्। स्थानीय हिमालय मावि डाँडीमाँडीमा अध्यनरत ममता हाल स्कुल बन्द भएका कारण अधिकांश समय घरमै हुन्छिन्। गाउँमै रहेको चिल्ड्रेन सेफ बाल क्लबमा आबद्ध उनले आफ्नो गाउँमा कोरोना फैलिन नदिने उपाय खोजिरहेकी छिन्। उनले घरको दैलोमै कोरोनाका लक्षण, बच्ने उपायहरूको सन्देशमूलक चित्र र आचारसंहिता बनाएर टाँसेकी छिन्। 

उनीजस्तै स्थानीय गौरी मावि बालेकाँडामा अध्ययनरत उपेन्द्र विकको दिनचर्या पनि उसैगरी बित्छ। स्कुल बन्द रहेका कारण उनले अभिभावकलाई स–साना काममा सघाउने र अन्य समय गाउँमा कोरोना संक्रमण फैलिन नदिन सचेतनामूलक सामग्रीहरू बनाउँछन्। ममता र उपेन्द्र जस्तै गाउँपालिकामा बालबालिका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिजनशीलता देखाइरहेका छन्। 

गाउँपालिकामा रहेका चिल्ड्रेन सेफ, समाज सुधार, सहनशीलता र म्यारीगोल्ड बाल क्लबमा आबद्ध ५४ जना बालबालिकाले कोरोनाका लक्षण, बच्ने उपायको सन्देशमूलक चित्र तथा आचारसंहिता बनाउने गरेका छन्। उनीहरूले कोरोनाका लक्षण, बच्ने उपायको सन्देशमूलक चित्र बनाएका छन्। सन्देशमूलक चित्र र आचारसंहिता आ–आफ्नो घरको दैलोमा टाँसेका छन्। बालबालिकाले आफ्नो घरसँगै वडा कार्यालयलगायतका सार्वजनिक स्थानमा समेत आचारसंहिता र सन्देशमूलक चित्र टाँसेका छन्।

बालबालिकाले कोरोनाबाट बच्न निर्माण गरेको आचारसंहितामार्फत परिवारका सबै सदस्यहरूले नियमित रूपमा साबुनपानीले मिचिमिची हात धुन, जथाभावी भीडभाड नगर्न, नियमित रूपमा मास्कको प्रयोग गर्न घरपरिवार र समुदायलाई आग्रह गरेका छन्। पानीलाई तताएर मात्रै पिउन, पोषणयुक्त खानेकुरा खान, खानेकुरालाई राम्ररी पकाएर मात्र खान, व्यक्ति व्यक्तिबीचको दूरी कायम गर्न आचारसंहितामा उल्लेख गरेका छन्। त्यतिमात्रै होइन बालबालिकाले बाल विवाह नगर्ने र महिनावारीलाई मर्यादित बनाउनसमेत आचारसंहितामा उल्लेख गरेका छन्।

बालक केशव थापा भन्छन्, ‘हामीले बनाएको सन्देशमूलक चित्र र आचारसंहिता घरका सबैले पालना गर्नुहुन्छ, घरमा आउने अन्य व्यक्तिहरूले पनि पालना गर्नैपर्छ।’ टाँसिएको चित्र र आचारसंहिता घरमा आउने जो कोहीले पनि हेर्ने र पढेर जाने गरेको थापा बताउँछन्। बालबालिकाले कोरोनाका लक्षण, बच्ने उपायबारे समुदायमा सचेतना फैलाइरहेका बालबालिकालाई सहजीकरण गरिरहेकी निर्मला नेपाली बताउँछिन्। ‘बालबालिकाले स्कुल बन्द भएको समयमा समयको सदुपयोग गरिरहेका छन्,’ निर्मला भन्छिन्, ‘बालबालिकाको अन्तरनिहीत क्षमताको प्रस्फुटन भएको छ।’

 बालबालिका जुटेको अभियानमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सहजिकरण गरिरहेको छ । उक्त गाउँपालिकामा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजना सञ्चालित छ ।

प्रतिक्रिया