कोरोनाको नाममा आफुखुसी रकम संकलनमा रोक

कोरोनाको नाममा आफुखुसी रकम संकलनमा रोक

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोनाको नाममा आफुखुसी रकम संकलनमा रोक लगाएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि भन्दै दैलेखमापनि विभिन्न व्यक्ति तथा सामाजिक संघ संस्थाले रकम संकलन गरिरहेका छन् । प्रशासनले बिहीवार एक सूचना जारी गर्दै रकम आफुखुसी रकम संकलनमा रोक लगाएको हो ।
प्रशासनद्धारा सार्वजनिक सूचनामा भनिएको छ, ‘हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि भन्दै आफुखुसी रकम संकलन गर्ने, विभिन्न अभियानका नाममा रकम जम्मा गर्ने गरेको सूचना प्राप्त भएको छ, यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने भएकाले त्यस्ता कार्य नगर्न नगराउन हुन सम्पूर्ण सरोकारवालाहरुमा जानकारी गराईन्छ ।’
कोही कसैले स्वेच्छिक रुपमा संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग गर्न चाहेमा राष्ट्रिय बाणिज्य बैंक सिंहदरबार परिषर शाखामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गर्नुपर्नेछ ।
संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि भन्दै यस अघि कोही कसैले रकम संकलन गरेको भए कोरोना कोषको खातामा जम्मा गरी भौचर जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

प्रतिक्रिया