थपिँदै अक्सिजन सिलिण्डर

थपिँदै अक्सिजन सिलिण्डर

दैलेख : नन्दकिशोर बस्नेत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष छन् । नेपालका विभिन्न स्थानमा रहेका औधोगिक क्षेत्रको व्यवस्थापनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । स्वास्थ्य उपचार क्षेत्रमा उनको प्रत्यक्ष सम्बन्ध छैन् । यद्धपी कोरोना महामारीमा अक्सिजनको अभावलाई ध्यान दिँदै उनले योगदान गरिरहेका छन् । उनले नेपालका विभिन्न जिल्ला सहित दैलेखका लागि पनि योगदान दिईरहेका छन् ।

गृह जिल्लामा कोरोना भाइरस संक्रमित बिरामीहरुलाई अक्सिजन अभाव हुन नदिन उनले अक्सिजन सिलिण्डरको जोहो गरिरहेका छन् । कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढेपछि बस्नेत अक्सिजन सिलिण्डरको खोजीमा जुटे । बैशाख अन्तिम साता मात्रैै उनले दैलेख अस्पतालमा १५ वटा ठूला अक्सिजन सिलिण्डर पठाएका थिए । अक्सिजन सिलिण्डरको अभाव बढ्दै गएका बेला उनै बस्नेतको पहलमा कालिकोटबाट अक्सिजन सिलिण्डर ल्याईएको थियो ।

यत्तिकैमा उनले अक्सिजन सिलिण्डरको जोहो गर्न छोडेनन् । दैलेखमा कोरोनाका बिरामीहरु अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्नका लागि उनले अक्सिजन सिलिण्डरको खोजी गरिरहे । अन्तत् गत बिहीवार उनकै पहलमा अक्सिजन सहितको १५ वटा ठूलो सिलिण्डर दैलेख आईपुगेको  छ । त्यतिमात्रै होइन, उनै बस्नेतले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल मार्फत गुराँस, महाबु र भैरबी गाउँपालिकाका लागि नौ वटा ‘पल्स अक्सिमिटर’ पठाएका छन् ।

बस्नेतले झैँ विघठित प्रतिनीधि सभा सदस्य पार्वतीकुमारी विशुन्के पनि दैलेख जिल्लामा अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिण्डरको खोजीमा छिन् । कोरोना संक्रमित बिरामीहरुले अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भनेर जुटेकी सांसद विशुन्केले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर दैलेख अस्पतालका लागि दश वटा अक्सिजन सिलिण्डर पठाएकी छिन् । अक्सिजन सिलिण्डर सहित उनले पठाएकोे दुई वटा अक्सिजन कन्सनट्रेटर, दश वटा इन्फारेड थर्मोमिटर, पीसीआर किट र स्वास्थ्य सामग्रीहरु गत बिहीवार दैलेख आईपुगेको थियाे ।

बस्नेत र सांसद विशुन्के जस्तै जिल्ला प्रहरी कार्यालयले पनि अक्सिजन सिलिण्डरको खोजी गरिरहेको छ । प्रहरीले हालै नौमूले हाइड्रोपावरबाट संकलन गरेको दुई वटा अक्सिजन सिलिण्डर अस्पताललाई बुझाएको थियो । योसँगै दैलेख अस्पतालमा यस अघि रहेका र हालै संकलन गरिएका सहित ६१ वटा ठूला सिलिण्डर रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखेका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । अस्पतालमा २१ वटा ठूलो १३ वटा साना सिलिण्डर थिए । अस्पतालमा हाल १५ वटा अक्सिजन कन्सनट्रेटर रहेका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीको भनाई छ । ‘तत्काललाई जिल्लामा अक्सिजन अभाव देखिदैँन्, रेग्मी भन्छन् ‘अक्सिजन अभावमा कुनै पनि कोरोनाका बिरामीले ज्यान गुमाउनु परेको छैन् ।’

जिल्ला प्रशासन कार्यालय दैलेखको तथ्यांकमा दुल्लु अस्पतालमा ३७ वटा सानो र दुई वटा ठूला अक्सिजन सिलिण्डर छन् । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा सानो ठूलो गरी १२ वटा, आठबीसको गैराखेत आइसोलेसनमा ११, भैरबी आइसोलेसनमा दुई, गुराँस आइसोलेसन रानिमत्तामा ६, महाबु आइसोलेसन अस्पतालमा पाँच, नौमूले आइसोलेसनमा एक र भगवतीमाई गाउँपालिकाको खालेघाँडी आइसोलेसन बेस्तडामा सात वटा अक्सिजन सिलिण्डर छन् । जिल्लाभर ७७ वटा अक्सिजन सहितको तीन सय ५७ वटा आइसोलेसन बेड र दुई वटा भेन्टिलेटर रहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया