पहिलो प्राथमिकता बालबालिकालाई कोरोनाबाट संरक्षण गर्नु हो

पहिलो प्राथमिकता बालबालिकालाई कोरोनाबाट संरक्षण गर्नु हो

दैलेख : ‘बालबालिकालाई कोरोनाबाट जोगाउनु नै राज्यको पहिलो प्राथमिकता हो,’ यो धारणा बालअधिकारकर्मी रमा भण्डारीकाको हो । गुराँस गाउँपालिकास्तरीय नागरिक समाजले आयोजना गरेको ‘विपद्मा बालबालिकाको संरक्षण’ सम्बन्धी अनलाईन अभिमुखिकरण गोष्ठिमा भण्डारीले भनिन् ‘पहिला बालबालिकालाई कोरोनाबाट सुरक्षित गरौँ त्यसपछि शिक्षा कसरी दिने भनेर सोच्नुपर्छ ।’
हामी प्रविधिमा कमजोर छौ भनेर राज्य गैरजिम्मेवार बन्नु भन्दा यस्ता विपद्लाई कसरी सामना गर्न सकिन्छ भन्ने कुरालाई सरकारको तल्लो निकाय देखि नभएर माथिल्लो निकायदेखिनै सोच्नु पर्ने उनको भनाई थियो ।
‘कर्णालीमा शिक्षाको अवस्था कोरोनाले मात्रै नभएर हामीले विगत फर्केर हेर्दा अन्य प्रदेशको तुलनामा कमजोर नै देखिन्छ, जुन प्रकारले बालबालिकाका सवालहरु उठाइनु पथ्र्याे त्यसरी उठाईएको छैन्, उनले भनिन् ‘स्थानीय तहमा बालबालिका लक्षित बजेट विनियोजनमा राज्यको त्यस्तो कुनै संयन्त्र छैन्, राज्यले सक्षम युवाको खोजी गरिरहेको छ तर बालबालिकामा लगानी गर्न तयार छैन्, संघीय सरकारले ३ वर्ष अगाडी बालबालिका सम्बन्धी ऐन ल्याए पनि अधिकाँश स्थानीय तहमा स्थानीय बालअधिकार समिति, बालअधिकार श्रोत व्यक्तिको व्यवस्था गरेको देखिदैन् ।’
राज्यले विगतलाई हेरेर पनि पाठसिक्ने नागरिक समाज दैलेखका अध्यक्ष खड्कबहादुर सिजापतिले बताए । ‘देश बन्दा बन्दिको अवस्थामा कसरी बालबालिकालाई शिक्षा दिन सकिन्छ, त्यस्ता योजना राज्यसँग छैन्, उनले भने ।’
शिक्षासँग सम्बन्धित परियोजना लागुभएका पालिकाहरुमा बालबालिकासँग सम्बन्धित केही क्रियाकलापहरु सञ्चालन भए पनि अन्य पालिकामा बालबालिकाका सवालहरु सम्बोधन हुन नसकेको पत्रकार अमर सुनारको भनाई थियो । गत वर्ष यही बन्दाबन्दीको अवधिमा भएका घटनाहरु मध्ये अधिकाँस बलात्कार सँग सम्बन्धित घटनाहरु बढी भएका कारण यो वर्ष पनि हुन सक्ने सम्भावित घटनाहरुबाट बालबालिकालाई सुरक्षित गर्न सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने उनले बताए ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले अप्रत्यक्षरुपमा बालबालिका धेरै प्रभावित भएकोे बताए । कोरोना संक्रमित अभिभावकलाई हस्पिटलमा स्याहारका लागि खटिने उनीहरुका बालबालिका हुन्छन् । राज्यले वैकल्पिक शिक्षाको व्यवस्था गर्न नसक्दा बन्दावन्दिले गर्दा बालबालिका गोठालो जाने, गिटि कुट्ने गरेर जिवन निर्वाह गरिरहेको थापाले बताए । ‘हाम्रा अभिभावकहरुमा पनि त्यस्तो चेतनास्तर छैन्, बालबालिका विद्यालय जानु भन्दा घरको काममा सघाएपछि खुसी हुने खालका छन्, अहिले बालबालिकाहरु मनोसामाजिक समस्यामा रहेका कारण स्थानीय तहमा मनोसामाजिककर्ताहरुको व्यवस्था गर्न आवश्यक छ,’ थापाले भने ।
कोरोनाले बालबालिकालाई हुनसक्ने सम्भावित असर र समाधानका प्रक्रियाको बारेमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताएका थिए । बालबालिकाका सवालहरुलाई सम्बोधनका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका हुने अधिकारीको भनाई थियो ।

प्रतिक्रिया