प्रहरीको निगरानीमा राउटे बस्ती

प्रहरीको निगरानीमा राउटे बस्ती

दैलेख : फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको बस्तीमा अब नेपाल प्रहरीले निगरानी गर्ने भएको छ । राउटे समुदाय बसोबास गरिरहेको स्थानमा असम्बन्धित व्यक्तिहरु गएर उश्रृंखल क्रियाकलाप र अश्लिल गतिविधि गर्न थालेपछि बस्तीलाई प्रहरीले निगरानी गर्ने भएको हो ।

राउटे मुखिया सुर्यनारायण शाहीले बाहिर मानिस आएर अनावश्यक भिडियो खिच्नेलगायत अनेक दु:ख दिन थालेको बताएका थिए। राउटे मुखिया शाहीले नचिनेको मान्छेहरु बस्तीमा आएर आफूहरुलाई दुःख दिइरहेको भन्दै सुरक्षाको माग गरेका थिए। मुखिया शाहीले आफूहरु बसिरहेको बस्तीमा नराम्रो भीडियो, फोटो खिच्न आउनेहरुलाई बन्देज लगाउन सरकारसँग माग गरेका थिए ।

हाल राउटे समुदाय सुर्खेतको गुर्भाकोट नगरपालिका -११ आपसोती जनैघाटस्थित भेरी नदि किनारमा बसोबास गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले राउटे समुदाय बसोबास गरिरहेको क्षेत्रमा नेपाल प्रहरीले निगरानी गर्ने बताए । ‘बस्तीमा बाहिरका व्यक्तिहरु पुगेर उश्रृंखल क्रियाकलाप र अश्लिल गतिविधि गर्न थालेपछि त्यसलाई रोक्न प्रहरीको टोली नै खटाइएको छ,’ डिएसपी घर्तीले भने । अबदेखि राउटे बस्तीमा असम्बन्धित व्यक्तिलाई प्रवेश गर्न नदिइने डिएसपी घर्तीले जानकारी दिए ।

पछिल्लो समय युट्युवका लागि भीडियो खिच्ने, टिकटक बनाउने नाममा निर्वाध रुपमा राउटे बस्ती पुग्नेहरुले उनीहरुलाई मदिरा सेवन गराएर अस्लिल शब्दहरु बोल्न लगाउने, यौन दुव्र्यवहार गर्ने लगायतका अस्लिल कामहरु गर्ने गरेका छन् । सरकारले लोपोन्मुख जातीमा सूचीकृत गरेको राउटे समुदाय बसोबास गरिरहेको स्थानमा  खुलेयाम प्रवेश गरेर युट्युव, टिकटकका लागि अश्लिल भीडियो बनाउनेहरुबाटै राउटे युवतीहरु यौन दुव्र्यवहारको सिकार बन्न थालेका छन् ।

तीनजनाविरुद्ध किटानी जाहेरी

हालै समुदायका दुई युवती यौन दुव्र्यवहारको सिकार बनेका छन् । गुर्भाकोटका स्थानीय युवाहरूले यौन दुव्र्यवहार गरेका हुन् । युवाहरुले दुव्र्यवहारसँगै ती युवतीमाथि यौन शोषण गरेको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा अपलोड गरे । गत शनिवार उक्त भिडियो सार्वजनिक भएपछि सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

युवतीहरूलाई फकाएर होटलमा लगेर यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले स्थानीय शुभकामना होटलका सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोटका दोमनबहादुर घर्ती र भूपेन्द्र बुढालाई पक्राउ गरेको थियो । तीन युवकले मदिरा सेवन गरी युवतीलाई पनि मदिरा खुवाएर लट्ठ पारी यौन दुव्र्यवहार गरेको भिडियोमा देखिन्छ ।

युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजनाविरुद्ध सुर्खेत प्रहरीमा जाहेरी दर्ता भएको छ । मानव ओसारपसार, यौन दुव्र्ययवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो । राउटे समुदायका युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै तीनैजनाविरुद्ध जाहेरी परेको हो । उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको र गल्तीसमेत स्वीकार गरिसकेको प्रहरी स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले किटानी जाहेरी दर्ता भइसकेको भन्दै घटनाबारे थप अनुसन्धान थालिएको जानकारी बताए ।राउटे नागरिकहरु दैलेखको गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा हुन् ।  यद्धपी उनिहरु दैलेख तथा सुर्खेतका विभिन्न जंगलमा फिरन्ते जीवनयापन गर्दै आएका छन् । राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले २०७५ असार ३० गते पहिलो पटक स्थायी परिचयपत्र प्रदान गर्यो । अहिले राउटे समुदायको जनसंख्या एक सय ४५ छ ।

प्रतिक्रिया