एउटै गाउँमा ६० क्विन्टल प्याज उत्पादन

एउटै गाउँमा ६० क्विन्टल प्याज उत्पादन

दैलेख : दैलेखको एक गाउँमा ६० क्विन्टल प्याज उत्पादन भएको छ । जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँ गाउँँमा ६० क्विन्टल प्याज उत्पादन भएको हो । कर्णाली राजमार्गले छिचोलेको उक्त गाउँका कृषकले एकै एकै सिजनमा ६० क्विन्टल प्याज उत्पादन गरेका हुन् ।
गाउँका १३ जना कृषकले प्याज खेती गरेका थिए । स्थानीय तरियाँ बेमौषमी तरकारी उत्पादन कृषि समुहमा आबद्ध भएका कृषकहरुले प्याज खेती सुरु गरेका थिए । कृषकहरुले ४० क्विन्टल प्याज बिक्री गरेको बताएका छन् ।
कृषकहरुले प्रतिकेजी ३० रुपैयाँका दरले प्याज बिक्री गरेको बताएका छन् । ‘गाउँमै आएर खरिद गर्न चाहाने व्यापारीहरुका लागि हामीले प्रतिकेजी ३० रुपैैयाँका दरले प्याज बिक्री गरेका हौँ,’ समुहका अध्यक्ष कर्णबहादुर थापाले भने । उनका अनुसार गाउँमा १५ रोपनी जग्गामा प्याज खेती गरिएको थियो । किसानहरुले उत्पादन गरेको प्याज दैलेख सहित सुर्खेत, कालिकोट तथा जुम्ला जिल्लामा समेत बिक्री भएको छ ।
दुल्लु नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।
उक्त परियोजनाले प्याज खेती गर्ने कृषकलाई बीउ सहयोग गरेको थियो । परियोजनाले कृषकहरुलाई प्याजको बीउ सहित प्राविधिक सहयोग समेत गरेको बताईएको छ । राम्रो उत्पादनसँगै मनग्य आम्दानी समेत हुनेभएपछि कृषकहरुको प्याज खेतीमा आकर्षण बढेको छ ।

 

प्रतिक्रिया