अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डरसहित स्वास्थ्य उपकरण सहयोग

अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डरसहित स्वास्थ्य उपकरण सहयोग


दुल्लु अस्पतालका डा. रन्जना रोकायलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिँदै । तस्बिर : हिक्मतबहादुर नेपाली

दैलेख : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरले दैलेखपनि आक्रान्त बनिरहेको छ । कोभिड संक्रमणकै कारण दैलेखमा २५ जनाले ज्यान गुमाईसकेका छन् । सोमवारसम्म तीन हजार दुई सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई हजार नौ सय ६१ जना निको भईसकेका छन् । महामारी नियन्त्रणका लागि स्थानीय तह र जिल्लास्थित अस्पतालहरुलाई सामाजिक संघसंस्था र व्यक्तिगत रुपमा सहयोग जुटिईरहेको छ । अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री सहयोग जुटिरहेको हो ।

यो संकटको समयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले स्थानीय तह, अस्पताल, स्वास्थ्य चौकी र समुदायमा सहयोग गरिरहेको छ । विभिन्न दातृ निकायको सहयोगमा संस्थाले संकटमा सारथी बनेर अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री हस्तान्तरण गरिरहेको छ । संस्थाले अघिल्लो साता मात्रै दैलेखको भैरबी गाउँपालिका, कालिकोटको पलाँता गाउँपालिका, खाँडाचक्र नगरपालिका लगाएतलाई स्वास्थ्य उपकरण सहयोग हस्तान्तरण गरेको थियो ।

कोभिड प्रतिकार्यका लागि आइतवार दैलेखको दुल्लु नगरपालिकास्थित दुल्लु अस्पताल र डुङ्गेश्वर गाउँपालिकालाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । १३ लाख ९७ हजार एक सय २५ रुपैयाँ बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो । हेल्भेटास स्वीसइन्टरकोअपरेशन नेपालको आर्थिक सहयोगमा संस्थाले दुल्लु अस्पताललाई तीन वटा अक्सिजन कन्सन्ट्रेटर दुई वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । त्यस्तै एक सय ५० सेट पीपिई, पाँच सय जोर ग्लोब्स, एक हजार थान सर्जिकल मास्क, २० जार स्यानीटाइजर सहयोग उपलब्ध गराएको हो ।

संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापा र पूर्व अध्यक्ष सिता रानाद्धारा दुल्लु अस्पतालका प्रमुख डा. रन्जना रोकायलाई हस्तान्तरण गरिएको अन्य सामग्रीमा १५ थान थर्मल गन, एक सय ५० थान एननाइन्टीफाइभ मास्क, २५ थान पल्स अक्सिमिटर, ३० सेट स्प्रे ट्यांकी, २५ थान डिजिटल थर्मामिटर, एक सय थान फेससिल्ड, पाँच वटा स्टेचर छ । यस्तै स्वास्थ्य सरसफाईका ५० किट, २० थान चाइल्ड अक्सिमिटर, पाँच सय बोटल भारेक्स र दुई हजार जोर सर्जिकल ग्लोब्स समेत हस्तान्तरण गरिएको हो ।

डुङ्गेश्वर गाउँपालिकालाई ५५ सेट पीपिई, एक हजार जोर लुज ग्लोब्स, चार हजार थान सर्जिकल मास्क, २० जार स्यानीटाइजर, पाँच थान थर्मलगन, पाँच सय ५० वटा एननाइन्टीफाइभ मास्क, १५ थान पल्स अक्सिमिटर, २० थान स्प्रे ट्यांकी सहयोग हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ललाई हस्तान्तरण गरिएको अन्य सामग्रीमा १५ थान डिजिटल थर्मामिटर, सय थान फेस सिल्ड, दुई थान स्टेचर र पाँच थान चाइल्ड अक्सिमिटर छ ।

कोरोनाको दोस्रो हलर रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तह, अस्पताल, स्वास्थ्य संस्था र समुदायस्तरमा स्वास्थ्य सामग्री सहयोग गरिरहेको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले सहयोग प्राप्त भएको स्वास्थ्य उपकरण र सामग्रीहरुले गाउँपालिकाका नागरिकहरुलाई कोरोना संक्रमणबाट जोगाउन सहयोग पुग्ने बताए । प्राप्त सामग्री गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराइने अध्यक्ष मल्लले बताए ।

दुल्लु अस्पतालका प्रमुख डा. रन्जना रोकायले संस्थाले अस्पतालका लागि निरन्तर योगदान दिईरहेको बताइन् । दुल्लु क्षेत्रपनि कोभिडबाट प्रभावित भएको बताउँदै डा. रोकायले संक्रमण रोकथाम तथा नियन्त्रण र नागरिकको जीवन बचाउन प्राप्त स्वास्थ्य उपकरणहरुले सहयोग पु¥याउने बताइन् ।

 

प्रतिक्रिया