मन्त्रीलाई प्रतिपक्षको कुर्सी !

मन्त्रीलाई प्रतिपक्षको कुर्सी !

सुर्खेत : कर्णाली प्रदेशसभाले सरकारमा सहभागी ३ मन्त्रीलाई प्रतिपक्षको कुर्सी व्यवस्थापन गरेको छ । एमाले संसदीय दलको निर्देशनविपरीत ‘फ्लोर क्रस’ गर्दा पदमुक्त भएका उनीहरुलाई सर्वोच्च अदालतले सांसदमा पुनर्वहाली गरेपछि संसद् सचिवालयले प्रतिपक्षी कुर्सीमा राख्ने निर्णय गरेको हो ।‘मन्त्रीसमेत भएकाले प्रतिपक्षी कुर्सीमा बस्ने/नबस्ने उहाँहरुको कुरा हो,’ सभामुख राजबहादुर शाहीले भने, ‘सर्वोच्चबाट पुनर्वहाली भएर आएपछि जुन दलबाट प्रतिनिधित्व गर्छन्, हामीले त्यही दलमा राख्ने निर्णय गरेका हौं ।’ सर्वोच्चको आदेशबाट उनीहरु एमाले सांसदमा कायम रहेका उनले बताए ।

वैशाख ३ गते पार्टी निर्देशनविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पदमुक्त गरेको थियो । पदमुक्त भएकै दिन वैशाख ४ गते मुख्यमन्त्री शाहीले ज्वालाबाहेक तीनजनालाई मन्त्री नियुक्त गरेका थिए । मन्त्री भएपछि तीनैजना सत्ता पक्षको सिटमा बस्दै आएका छन् ।

नीति तथा कार्यक्रम अन्योलमा

सर्वोच्चबाट पुनर्वहाली भएका सांसदको सिट व्यवस्थापनमा सहमती नहुँदा कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णायार्थ पेश हुन सकेन । मंगलबार आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउने तयारी गरिरहेको सरकार नीति तथा कार्यक्रम पास हुन नसकेपछि अप्ठेरोमा परेको छ । यद्यपि मंगलबारै नीति तथा कार्यक्रम पास गराई बजेट ल्याउने सरकारको तयारी छ । सभामुख शाहीले मंगलबार दिउँसो १ बजे सुरु हुने बैठकमा मुख्ममन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने र त्यसपछि निर्णायार्थ पेश गरिने बताए । उनका अनुसार दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

एमाले एकल बहुमतमा

सर्वोच्चले एमालेका ४ सांसदलाई पदमै रहन अन्तरिम आदेश गरेपछि कर्णाली प्रदेशसभाको अंकगणित करिब पुरानै अवस्थामा फर्केको छ । एमाले एकल बहुमतमा पुगेको छ । ३९ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद भएका छन् । एमाले प्रवेश गरेपछि माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी पदमुक्त भएका छन् । ‘फ्लोर क्रस’ गरेको आरोपमा एमालेका ४ सांसद पदमुक्त हुँदा कर्णाली प्रदेशसभा ३५ सदस्यमा झरेको थियो । त्यतिबेला त्यतिबेला एमाले सभामुखसहित १६, माओवादी केन्द्र १२, कांग्रेस ६ र राप्रपाका १ सांसद थिए । उतिबेला माओवादी–कांग्रेस गठबन्धन बहुमतमा थियो । अहिले कर्णालीमा माओवादी केन्द्रका संसदीय दलका नेता शाहीको नेतृत्वमा नेपाली कांग्रेस र एमालेको माधव नेपाल समूह सरकारमा सहभागी छ । कान्तिपुर

प्रतिक्रिया