सोसेकद्धारा कोरोना महामारीसँग जुध्न ५४ लाखको लाखको स्वास्थ्य सामग्री सहयोग

सोसेकद्धारा कोरोना महामारीसँग जुध्न ५४ लाखको लाखको स्वास्थ्य सामग्री सहयोग

दैलेख : कोरोना भाइरसको दोस्रो लहरका कारण गम्भीर रूपमा प्रभावित भएको दैलेखलाई महामारीसँग जुध्न गैरसरकारी संस्थाहरुले सहयोग गरिरहेका छन् । सोहि क्रममा महामारीसँग जुध्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले ५४ लाखको स्वास्थ्य उपकरण, सरसफाई र सुरक्षाका सामग्री सहयोग गरेको हो । दोस्रो लहरको कोरोना भाइरस प्रतिकार्यका लागि संस्थाद्धारा दैलेख, कालिकोट र अछाम जिल्लामा स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री र सरसफाईको सामग्री सहयोग गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण र संक्रमितहरुको उपचारका सन्दर्भमा संस्थाले स्थानीय तह, अस्पताल र समुदायस्तरमा ५४ लाख १८ हजार बराबरको सामग्री सहयोग गरिएको संस्थाका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए । संस्थाले विपद् व्यवस्थापनका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको श्रेष्ठको भनाई छ । उपकार्यकारी निर्देशक श्रेष्ठका अनुसार संस्थाले यसअघि जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना समेत निर्माण गरेको थियो ।

मंगलवार नेपाल पत्रकार महासंघ दैलेखको समन्वयमा संस्थाद्धारा आयोजित जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । संस्थाका अनुसार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले गुराँस गाउँपालिकालाई ८ लाख ६० हजार बराबरको सामग्री सहयोग गरेको छ । गाउँपालिकालाई एन्टिजीन किट, पीपिई सेट, हस्पिटल बेड, डेडबडी ब्याग, स्प्रे पम्प, पल्स अक्सिमिटर, सर्जिकल मास्क र ग्लोब्स सहयोग गरेको बताइएको छ ।

यस्तै संस्थाद्धारा सञ्चालित साकार परियोजनामार्फत दैलेखको दुल्लु र आठबीस नगरपालिका तथा अछामको पंचदेवल विनायक नगरपालिकालाई १२ लाख २५ हजार रुपैयाँको फुट अपरेटर धारा, फिल्टर, डस्बिन, मास्क, स्यानीटाइजर, पीपिई, ग्लोब्स लगाएतका सामग्री सहयोग गरेको छ ।

त्यसैगरी आधार परियोजनामार्फत दैलेखको भैरबी गाउँपालिका, कालिकोटको पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिका, जिल्ला प्रहरी कार्यालय कालिकोट र दैलेख, पत्रकार महासंघ कालिकोट र दैलेख, नारायण नगरपालिका र राउटे नागरिकहरुलाई ७ लाख २६ हजार बराबरको अक्सिजन सिलिण्डर, मास्क, पीपिई, अक्सिमिटर, ग्लोब्स, स्प्रे ट्यांकी, फेससिल्ड लगाएतका सामग्री सहयोग गरिएको संस्थाले जनाएको छ ।

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनामार्फत ४० हजार बराबरको मास्क र सेनीटाइजर नौमूले गाउँपालिकालाई सहयोग गरिएको छ । हेल्भेटास स्वीसइन्टरकोअपरेशन नेपाल÷एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रममार्फत दुल्लु नगरपालिकास्थित दुल्लु अस्पताल र डुङ्गेश्वर गाउँपालिकालाई ३ वटा अक्सिजन कन्सन्ट्रेटर २ वटा अक्सिजन सिलिण्डर सहित १५ लाख ३१ हजार रुपैयाँ बराबरको सामग्री सहयोग हस्तान्तरण गरेको संस्थाले जनाएको छ । संस्थाका अनुसार उत्थान परियोजनामार्फत दुल्लु नगरपालिका र आठबीस नगरपालिका तथा दैलेख आइसोलेसन अस्पताल, नौमूले गाउँपालिका र समुदायस्तरमा १० लाख १८ हजार बराबरको स्वास्थ्य उपकरण, सरसफाई र सुरक्षाका सामग्री सहयोग भईसकेको छ ।

संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण र संक्रमितहरुको उपचारका सन्दर्भमा संस्थाले स्थानीय तह, अस्पताल र समुदायस्तरमा स्वास्थ्य सामग्री र उपकरणहरु सहयोग उपलब्ध गराउँदै आएको बताए । सोसेक नेपालद्धारा सञ्चालित विभिन्न परियोजना र कार्यक्रममा कार्यरत कर्मचारीहरु आफ्नो कार्य क्षेत्रमा आम नागरिकहरुसँगै रहेर काम गरिरहेको समेत संस्थापक अध्यक्ष थापाको भनाई छ ।

संस्थाद्धारा मंगलवार आयोजित कार्यक्रममा दैलेखमा क्रियाशिल ३५ जना पत्रकारहरुका लागि सर्जिकल मास्क, एननाइन्टीफाइभ मास्क र सेनीटाइजर नेपाल पत्रकार महासंघ दैलेखलाई हस्तान्तरण गरिएको छ । संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापालाई सामग्र्री हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नविन रिजालले संस्थाले महिला र बाल अधिकारका सवालमा गरिरहेको कामको प्रशंसा गरेका छन् । उनले महामारीको समयमा अग्रपंतीमा खटिएका पत्रकारहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा सोसेकलाई धन्यवाद ज्ञापन गरे । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले दोस्रो लहरको कोरोना भाइरस प्रतिकार्यका लागि संस्थाले महत्वपूर्ण योगदान दिएको बताए । अध्यक्ष थापाले पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद ज्ञापन गरे ।

 

 

प्रतिक्रिया