किसानलाई फलामका स्थायी टनेल

किसानलाई फलामका स्थायी टनेल

दैलेख : कर्णाली राजमार्गले छिचोलेको बस्ती। रोग, भोक, गरिबी, विपन्नता र पछौटेपनले पिल्सिएको गाउँको रुपमा चिनिन्थ्यो, कुमालखाडा गाउँ। घरखर्चको जोहो गर्न गाउँका अधिकांश पुरुषहरु मजदुरीका लागि भारत पस्थे। झण्डै एक दशक अघिसम्म यहाँ एचआइभी संक्रमितहरुको कहालीलाग्दो अवस्था थियो। कर्णाली नदि छेउमै रहेको आठबीस नगरपालिका–३ कुमालखाडा गाउँको त्यो परिचय अहिले फेरिएको छ। यो गाउँलाई अहिले नमुना गाउँको रुपमा विकास गरिँदैछ।

परम्परागत खेती प्रणाली अगाल्दै आएका यहाँका नागरिकहरु अहिले व्यवसायिक तरकारी खेतीमा जुटेका छन्। व्यवसायिक तरकारी खेती गर्नेमा महिलाहरुको संख्या बढी रहेछ। यो गाउँका बारीका पाटाहरुमा अहिले टनेलले भरिएका छन्। किसानहरुले मौसमी तथा बेमौसमी रुपमा बन्दा, काउली, आलु, मुला, टमाटर, काक्रा लगाएतका तरकारी उत्पादन गरिरहेका छन्।

गाउँमा दुईवटा फलफूल तथा कृषक समूह सक्रिय छन्। बाँसघारी गौरीशंकर फलफूल तथा कृषक समूह र चेतनशिल फलफूल तथा कृषक समूहमा गरी ४८ जना आवद्ध छन्। तीमध्ये ४० जनाले व्यवसायिक तरकारी खेती गरिरहेका छन् भने ८ जनाले बाख्रा पालन गरिरहेका छन्।

किसानलाई फलामका स्थायी टनेल

बाँस प्रयोग गरेर अस्थायी टनेलमा टमाटर लगाएतका तरकारी उत्पादन गर्दै आएका यो गाउँका किसानहरुलाई फलामका स्थायी टनेल उपलब्ध गराइएको छ। ४० जना किसानमध्ये पाँच जना किसानलाई फलामका स्थायी टनेल उपलब्ध गराइएको हो। अन्य १५ जना किसानहरुलाई अस्थायी टनेल दिइएको छ।

फलामको स्थायी टनेल पाएपछि किसान खुसी भएका छन्। स्थानीय चेतनशिल फलफूल तथा कृषक समूहकी कोषाध्यक्ष सपना शाही भन्छिन् ‘विगत वर्षमा बाँस प्रयोग गरेर टनेल बनाएका थियौँ, गाउँमा सहजै बाँस पाइदैन्, बाँसको टनेललाई हावाहुरीले भत्काइदिन्थ्यो।’ फलामको स्थायी टनेल पाएपछि त्यस्ता समस्या अन्त्य भएको शाहीको भनाई छ। खुला र बाँसको अस्थायी टनेलको तुलनामा फलामको स्थायी टनेलभित्र खेती गर्दा धेरै आम्दानी लिन सकिने उनले बताइन्।

फलामका स्थायी टनेल पाएपछि उत्पादन बढ्ने स्थानीय रमिता कार्कीको अपेक्षा छ। ‘अस्थायी बाँसको टनेल भरपर्दो थिएन, अब तरकारी खेतीका लागि सहज हुनेछ।’गाउँमा एक गैससले निरन्तर सहयोग गरिरहेको छ। यूरोपियन यूनियन, डिसीए नेपालको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा सञ्चालित उत्थान परियोजनाले किसानलाई तरकारी खेतीका लागि सघाउँदै आएको छ। प्राविधिक, बीउ बिजन, टनेल लगाएतका सहयोग र तरकारी खेतीबारे सिकाएपछि तरकारी खेती गर्न सहज भएको कार्कीको भनाई छ।

परियोजनाले दुल्लु नगरपालिकास्थित नरेश्वर उद्यमशिल विद्यालयमा पनि फलामको स्थायी टनेल उपलब्ध गराएको छ। सोहि नगरपालिकाको कृष्ण विकास कृषि समुहका २० जना कृषकलाई अस्थायी टनेल उपलब्ध गराइएको कृषि प्राविधिक संगम विस्टले बताइन्। उनकाअनुसार किसानहरुले जैविक विषादी बनाउने ड्रम, मल्चिङ प्लाष्टिक, थोपा सिंचाईसहित प्राविधिक सहयोग पाइरहेका छन्।

प्रतिक्रिया