यूके स्वास्थ्यमन्त्री विवाद: सामाजिक दूरीको नियम तोडेपछि म्याट ह्यानककद्वारा राजीनामा

यूके स्वास्थ्यमन्त्री विवाद: सामाजिक दूरीको नियम तोडेपछि म्याट ह्यानककद्वारा राजीनामा

ब्रिटेनमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्। प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ लेखेका छन्। प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू ‘दु:खी’ भएको बताएका छन्। पूर्व अर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो। उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ। कयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका छन्।

राजीनामाबारे ह्यानककले के भने?

ट्विटरमा प्रेषित एक भिडिओमा ह्यानकले भनेका छन्, “म स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेट्न गएको थिएँ।” “यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु…र हामी जसले नियम बनाउँछौँ त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ।” स्वास्थ्यमन्त्रीका रूपमा तीनवर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा ‘नियम तोडेकोमा’ बारम्बार माफी मागेका छन्।त्यस्तो अवस्थाका लागि उनले आफ्नो परिवार र प्रियजनसँग समेत माफी मागेका छन्। बीबीसीबाट साभार ।

प्रतिक्रिया