कर्णालीमा ६२ प्रतिशत रोपाइँ

कर्णालीमा ६२ प्रतिशत रोपाइँ

काठमाडौं : असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमबार साँझसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलकाअनुसार असार १४ गतेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

गत वर्ष यो अवधिमा चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो । बर्खा याममा नेपालभर १३ लाख ७१ हजार ७ हेक्टरमा धान खेती हुने पनि उनले जानकारी दिए ।सयममै मनसुन सुरु भएको छ र मल बिउको उपलब्धताका कारण देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको विभागको दाबी छ । देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा आएको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको भनाइ छ ।

कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा भर्खर रोपाइँ सुरु भएको विभागले जनाएको छ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने प्रदेश दुईमा सबैभन्दा कम १० प्रतिशत क्षेत्रधफलमा मात्रै रोपाइँ सकिएको छ ।

प्रतिक्रिया