प्रधानमन्त्रीको पुत्ला जलाउँदा झडप, प्रहरी निरिक्षक घाइते

प्रधानमन्त्रीको पुत्ला जलाउँदा झडप, प्रहरी निरिक्षक घाइते

दैलेख : दैलेखमा विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले प्रर्दशन गरेका छन् । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले दैलेख सदरमुकाममा प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

प्रर्दशनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत भएको थियो । विद्यार्थी संगठनहरुले जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग समेत गरेका  छन् ।

त्यस लगत्तै विद्यार्थी संगठनका नेता–कार्यकर्ताद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए । प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नेक्रममा आन्दोलनकारीबाट पुत्ला नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठका अनुसार प्रहरी निरिक्षक राजेश साहु घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको डिएसपी श्रेष्ठले बताए । उनको दैलेख अस्पतालमा उपचार भईरहेको छ । प्रहरी निरिक्षक साहुमाथी आन्दोलनकारीले ढुंगाले प्रहार गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । यस्तै प्रर्दशनकारी विद्यार्थी संगठनका केहि कार्यकताहरु समेत घाइते भएको बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको भन्दै प्रहरीले ३० जना बढि आन्दोलनकारीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणको लिएको केहि समयपश्चात प्रर्दशनकारीलाई छोडिएको डिएसपी श्रेष्ठले बताए ।

 

प्रतिक्रिया