दैलेखमा कोरोना कहर : संक्रमण घट्दै, जोखिम कायमै, निषेधाज्ञा खुकुलो

दैलेखमा कोरोना कहर : संक्रमण घट्दै, जोखिम कायमै, निषेधाज्ञा खुकुलो

दैलेख : दैलेखमा दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ओरोला लागेपछि झण्डै ५८ दिनपछि निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले असार १८ गते शुक्रवारदेखि बजार व्यवसाय साँझ ६ बजेसम्म खुला रहने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनले बैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो ।

शुक्रवार बसेको जिल्ला सुरक्षा समितिको निणर्य अनुसार निषेधाज्ञालाई खुकुलो पारिएको हो । निणर्य अनुसार ब्यूटीपार्लर, सैलुन, होटल, रेष्टुरेन्ट, चियानास्ता पसल बाहेकका व्यवसायहरु शनिवार बाहेक साँझ ६ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गरि सञ्चालनमा रहनेछन् ।

यस्तै सार्वजनिक यातायातका साधनहरु तोकिएको जनस्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरी सिट क्षमता भन्दा आधा संख्यामा जिल्ला भित्र मात्रै सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार जिल्लामा कोरोना संक्रमणको दर कम घट्दै गएको छ । यद्धपी जोखिम भने कायमै रहेको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार जिल्लामा कोरोना भाइरस पुष्टि भएका मध्ये तीन हजार २ सय १० जना बिरामी निको भएका छन् । जिल्लामा बुधवारसम्म ३ हजार ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये ३ हजार २ सय १० जना बिरामी निको भएको कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । पहिलो लहरमा एक हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो ।

दोस्रो चरण सुरू भएपछि एक हजार ८ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९४ जना मात्रै रहेको बताइएको छ । ती मध्ये ७ जना दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणका कारण २७ जनाको निधन भएको छ । पहिलो लहरमा ६ जनाको मात्रै मृत्यु भएको दैलेखमा दोस्रो चरण सुरू भएपछि वैशाख यता मात्रै २१ जनाको मृत्यु भएको छ ।

No photo description available.

प्रतिक्रिया