बाढी पहिरोका कारण घरबारविहीन भएका परिवारलाई राहतस्वरुप ५० हजार रुपियाँ दिइने

बाढी पहिरोका कारण घरबारविहीन भएका परिवारलाई राहतस्वरुप ५० हजार रुपियाँ दिइने

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोका कारण घरबारविहीन भएका परिवारलाई राहतस्वरुप पहिलो किस्ताका लागि ५० हजार रुपियाँको दरले सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको जानकारी गराएका छन् ।  राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले सो जानकारी गराएका हुन् ।

मनसुनजन्य विपदका घटनाबाट सयौं घरपरिवार विस्थापित भएको जानकारी दिनुहुँदै उनले बाढी पहिरोका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भइसकेको जानकारी गराए । त्यस्तै, ५०५ निजी घर पूर्णरुपमा क्षति र ११२ घरमा आंशीक क्षति भएको उनले जानकारी दिए । त्यसैगरी ९ वटा विद्यालयको भवनमा क्षति पुगेको पनि उनले बताए । १५ वटा मोटरेबल पुलमा क्षति भएको जानकारी दिनुहुँदै गृहमन्त्रीसमेत रहेका पौडेलले तत्काल कार्ययोजना बनाई क्षति भएका पूर्वाधारको पुनरनिर्माणको काम शुरु भइसकेको बताए ।

मेलम्ची आयोजनाको खानेपानी, सडक र पूर्वाधारका विषयमा विज्ञहरुको टोलीले स्थलगत अध्ययन गरिरहेको र प्रतिवेदनका आधारमा मर्मतको काम शुरु गरिने अर्थमन्त्री पौडेलले बताए ।  मन्त्री पौडेलकाअनुसार २५ वटा जलविद्युत आयोजनामा आंशिक क्षति पुगेको छ। हालसम्म सिन्धुपाल्चोक, मनाङ, दाङ लगायतका जिल्लाबाट धेरैलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले स्थानीय तहसँग समन्वय गरी पुनस्र्थापना र उद्धारको काम गरिरहेको मन्त्री पौडेलले बताए । प्रादेशिक विपद गोदाम घरमा राहत सामग्री भण्डारण गरिएको बताउँदै मन्त्री पौडेलले घरवार विहिनकालागि घरवास पुनःनिर्माणका लागि आवश्यक अनुदान उपलब्ध गराउने व्यवस्था गराएको पनि जानकारी दिए ।

यस वर्ष घरबास गुमाएका ५७२ घर परिवारका लागि ५० हजार रुपियाँका दरले सहयोग उपलब्ध गराइने प्रक्रिया अघि बढिसकेको पनि मन्त्री पौडेलले बताए । भौगर्भिक अध्ययन प्रतिवेदनका आधारमा जोखिममा रहेका बस्तीलाई स्थानान्तरणको काम गरिने उनले जानकारी दिए। विपदका घटना र भएका क्षतिबारे हरेक दिन सार्वजनिक गर्ने प्रवन्ध सरकारले मिलाएको पनि उनकाे भनाइ छ ।

सरकारले प्रोएक्टिभ रुपले पुनस्र्थापनाको काम गरिरहेको जानकारी दिँदै उनले सरकारको तर्फबाट हुने सबै प्रयास जारी राखेको बताए। राहत, पुनस्र्थापनामा कुनै किसिमको राजनीति नभएको बताउँदै  अर्थमन्त्री पौडेलले मानवीय विषयमा राजनीति कसैले गर्न नहुने  बताए । राहत तथा पुनस्र्थापनाका कामलाई केन्द्रीकृत र एकीकृतरुपमा काम सरकारले गर्ने अर्थमन्त्री पौडेलकाे भनाइ छ ।

बाढी पहिरोबाट पीडितको पुनस्र्थापनामा सरकारको तर्फबाट बजेटको अभाव हुन नदिइने बताउँदै अर्थमन्त्री पौडेलले गत वर्ष क्षति भएको घरको पुनस्र्थापनाको लागि तीन हजार ९४९ घरलाई ५० हजार रुपियाँको दरले पहिलो किस्ता उपलब्ध गराइसकेको जानकारी दिए। बाढी पहिरोबाट क्षति भएकालाई अनुदान दिने कार्यविधि २०७७ अनुसार पहिलो किस्ताको रकम उपलब्ध गराइने काम भएको जानकारी दिए । बैठकमा सांसदहरु अनिता देवकोटा, रामनारायण विडारी, मृगेन्द्रकुमार सिंह, उदया शर्मा, जितेन्द्रनारायण देव, लगायतले बाढी पहिरोबाट हुने क्षति न्यूनिकरणका विषयमा सरकारले गरेको पूर्व तयारीबारेमा जिज्ञासा राखेका थिए। पुनस्र्थापना र राहतमा पनि राजनीति भइरहेको टिप्पणी सांसदहरुले गरेकाे थिए ।

प्रतिक्रिया