नेपाली कांग्रेसले एक असल र निष्ठावान नेतालाई गुमायो : सभापति देउवा

नेपाली कांग्रेसले एक असल र निष्ठावान नेतालाई गुमायो : सभापति देउवा

दैलेख : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस दैलेखका पूर्व सभापति जगतजंग थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले थापाको निधनले नेपाली कांग्रेसले एक असल र निष्ठावान नेतालाई गुमाएको बताएका छन् । नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा थापाले पु¥याएको सक्रिय योगदानको स्मरण गरेको सभापति देउवाको भनाई छ ।

उनि नेपाली काँग्रेसका महासमिति सदस्य, नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय सदस्य, नेपाल बाल संगठनको पूर्व केन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति हुन् । नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा थापाले सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसद्धारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा थापाको निधनबाट पार्टीले एक अनुभवी व्यक्तित्वलाई गुमाएको र कांग्रेसलाई अपुरणीय क्षति पुगेको उल्लेख छ । नेता थापाले दैलेखमा भद्र, शालीन, मिलनसार छवि बनाएका थिए ।

उनको कोभिड–१९ को संक्रमणका कारण निधन हो । कोरोना संक्रमित भई दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत थापाको आइतवार राती ३ बजे निधन भएको थियो । वि.स. २००५ मा नारायण नगरपालिका–२ जाहारकोटमा जन्मिएका नेता थापाको ७३ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनि २०३० देखि २०३४ सम्म त्रिभुवन मावीको शिक्षक थिए । पञ्चायत कालमा युवक संगठनको भेरी अञ्चल संयोजक रहेका थापा २०५३ देखि २०५६ सम्म नेपाली काँग्रेस दैलेखको सभापति थिए । त्यसयता राजनीतिमा सक्रिय रहेका थापा २०७४ मा भएको कर्णाली प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनेका थिए । उनि लोकतान्त्रिक गठबन्धनबाट दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट प्रदेश सांसदको प्रत्यासी थिए ।

प्रतिक्रिया