मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त

मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयले परीक्षा नै नलिएर विद्यार्थी पास गराएको र परीक्षा अगाडि नै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ । कारवाहीमा परेका दुबैजना विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यापनरत थिए । विश्वविद्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई बर्खास्त गरिएको जानकारी दिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ संकायको स्नातकोत्तर तहका कार्यक्रम निर्देशक एवं उपप्राध्यापक विश्वनाथ यादव र स्कुलअफ लतर्फ अध्यापनरत उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरिएको बताए । यादव स्थायी हुन् भने पन्त करारमा कार्यरत थिए ।

अनियमितता गरेको पुष्टि भएपछि उनीहरुलाई भविष्यमा विश्वविद्यालय सेवाका लागिअयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय विश्वविद्यालयको कार्यकारी परिषद्ले गरेको छ ।परीक्षामा अनियमितताको आरोप लागेपछि यसबारे छानबिन समिति गठन गरेर अध्ययन गरिएको थियो । दीपबहादुर रावलको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनको आधारमा उनीहरुलाई बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ । छानविन समितिका अनुसार उपप्राध्यापक यादवले परीक्षा नै नलिएर विद्यार्थीलाई पास गराएको पाइएको छ । यस्तै पन्तले भने परीक्षाअघि नै प्रश्नपत्र बाहिर ल्याएको पाइएको हो ।

विश्वविद्यालय शिक्षाको गुणस्तर खस्किन नदिन र विश्वविद्यालयको प्राज्ञिक मर्यादा बचाउन शैक्षिक अपराध गर्ने व्यक्तिहरुलाई सेवाबाटै बर्खास्त गरिएको उपकुलपति सिंहको भनाइ छ । उपकुलपति सिंहले भने, ‘यो विश्वविद्यालय यहाँका जनताले छाक कटाएर स्थापना गरेका हुन्, यहाँका विद्यार्थीको भविष्य बनाउन विश्वविद्यालय प्रतिबद्ध छ । तर यहाँ अधिकांश विद्यार्थीलाई हाजिरी नै नपुगाएर पास गर्ने काम भएको पाइयो, क्याम्पस सञ्चालक र विद्यार्थीबीचको मिलेमतोमा हुने गलत काम रोक्ने कारवाही गरेका हौँ ।’

निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर विषय शिक्षकले पठाएको नभइ आफैँले मनलाग्दी रुपमा पठाएको र आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्श छानविन समितिले निकालेको थियो । यस्तै करारमा नियुक्त स्कुल अफ ल का उपप्राध्यापक पन्तले कानुन संकायतर्फको परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको पुष्टि भएसँगै उनलाई पनि कारवाही गरिएको हो । छानविन समितिले दोषी देखिएको प्रतिवेदन बुझाएसँगै उनीहरु दुबै जनालाई स्पष्टिकरण सोधिएको थियो । तर त्यसबाट पनि चित्तबुझ्दो जवाफ नआएपछि पदबाटै बर्खास्त गर्ने निर्णय भएको विश्वविद्यालयले जनाएको हो ।

प्रतिक्रिया