दुई दिनदेखि बेपत्ता ३ वर्षे नाबालक मृत भेटिए

दुई दिनदेखि बेपत्ता ३ वर्षे नाबालक मृत भेटिए

टीकापुर : दुई दिनदेखि बेपत्ता रहेका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का तीन वर्षे नाबालकको शव फेला परेको छ।  इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले खोजतलास गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदीमा बालकको शव फेला पारेको हो।
सोमवार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदी नाता पर्ने १५ वर्षीय बालिकासँगै गएका ३ वर्षे छोरा विवेक विष्टको शव फेला परेको हो। उनी दिलीप विष्टका छोरा हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बाघमारास्थित जमरा नदीमा प्रहरीको टोलीले बालकको शव फेला पारेको बताए।  ‘दिउँसोदेखि नै नदीमा खोजी गरिरहेको प्रहरी टोलीले बालकको शव फेला पारेको छ’, डिएसपी सापकोटाले भने, ‘बेपत्ता बालककै शव हो वा होइन भनेर हुलिया पहिचान गर्न आफन्तसहित घटनास्थल गइरहेको छु।’

घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै डिएसपी सापकोटाले थप विवरण छिट्टै सार्वजनिक गर्ने बताए। बालक विष्टको घरबाट जमरा नदी झण्डै ५ सय मिटर उत्तरतर्फ छ। प्रहरी श्रोतका अनुसार गए रातिदेखि प्रहरीले ती बालकसँगै जामुन खान भनेर गएकी बालिकामाथि केरकार शुरु गरेको थियो। नाटकीय रुपमा नाबालक हराएपछि टीकापुर क्षेत्रमा त्रास फैलिएको थियो।

प्रतिक्रिया