भगिरामको भाग्य !

        अमर सुनार   |   प्रकाशित मितिः बुधबार, असार ३०, २०७८     ::: 239 पटक पढिएको   |  

दैलेख : वर्षा सुरुसंगै चुहिने गरेको घर । त्यही घर कुर्ने र मुश्किलले तीन महिना खान पुग्ने बारीमा दिनराति धसिएर जिम्दारी धानिरहका छन् ६१ वर्षीय भगिराम कामी र उनकी श्रीमती ५८ वर्षीया कलौरी कामी । भैरबी गाउँपालिका–४ भैरीकालिकाथुमकाका यी दम्पतिको सम्पति नै यही हो । गृहस्थी अर्थात जिम्दारी धान्नू उनीहरुको रहर होइन वाध्यता हो ।

२०४१ मा जन्मेको जेठो छोरा भुवानले १८ बर्षको हुँदा २०५९ मा विवाह गरे । मुस्किलले ६–७ महिना घरमा बसेर भारत गए । २०६० मा भुवानको श्रीमतिले छोरा जन्माइन् । छोरा जन्मेको ३ वर्षसम्म पनि भुवान घर फर्किएनन् । उनकी श्रीमति अन्यत्रै विवाह गरी गइन् ।
भुवानको छोरा पदम १८ वर्षको भए । उनी न घरका बाजेबज्यैको सम्पर्कमा छन् न त आफ्ना बुबा भुवानसंग भेटेका छन् । कहिले काँही सहर चाहर्दै गरेको परिवारजनलजे त्यहाँ भेटेका भनेर गाउँलेहरुले खवर ल्याएर थाहा पाएका हुन् । उता भुवानले अर्को विवाह गरी कालापहाडतिरै दिन बिताइरहेका छन् ।

भगिरामको माइलो छोरा चन्द्र अहिले २५ वर्षको भए, उनी ड्राइभिङ्ग सिक्दै गर्दा नेपालगञ्जकी सल्यानी किशोरीसंग दुई वर्ष अघि विवाह गरी उतै बसेका छन् । चन्द्रको वैवाहिक सम्वन्धपछि छोरा जन्मेको एक वर्ष भइसक्यो । माइलो छोराले श्रीमती र छोरालाई भेट गराएका छैनन् ।
२० वर्षको कान्छो छोरा डम्बर भैरीकालिकाथुममै छन् । भगिराम र कलौरीको सिकाई अह्राइमा चल्दैनन् । उनी कहिले जुम्ला, कहिले सुर्खेत पुगेर मजदूरी गरे पनि कमाएको उतै पैमास गर्छन् । गाउँमै आएको बेला पनि दौतरीहरुसंगै हिड्ने–डुल्ने, खानेबस्ने अनि फेरि अर्को जिल्ला गयो रे भन्ने खवर मात्र पुग्छ । छोरा घर पुग्दैन ।

भगिराम र कलौरीको सबै भन्दा पछिल्लो सन्तान छोरी छत्तकुमारी उमेरले १८ वर्षकी भइन्, उनको दुई वर्ष अघि चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ तिलुकाना विवाह गरी गएकी छिन् । छोरीका जहान सबै हिमाञ्चलको कुल्लूमनाली बस्छन् । छत्तकुमारीको पनि एक वर्ष अघि छोरा जन्मेको छ । फोनमा कुरा हुन्छ तर विवाह भएदेखि छोरीसंग भेट भएको छैन ।

भगिरामका जीवित चार छोरा–छोरी बाहेक जेठो भुवन र चन्द्रबीचका दुई छोरा ५–७ वर्षको उमेरमा मृत्यु भईसकेको थियो । बाँचेकाहरु आफूसित छैनन् । आउजाउ पनि छैन, कहिले काहिं आउजाउ गर्ने कान्छो छोराको अल्लारे पाराले भगिराम र कलौरीलाई पिरोलेको छ । ‘पढाउन–लेखाउन खुबै कोसिस ग¥यौं उनीहरुले मानेनन्, सबै आ–आफ्नै तालका भए’ कलौरीले पींडा सुनाइन् ।

२०४९ सालको फागुनको महिना भुवानपछिका दुई छोरा एक्कासी ज्वरो आएर अघिल्लो पछिल्लो दिन बिते । त्यो बेला काखका छोरा पछिल्लो दिन बितेको थियो, त्यो छोरा मरेको १२ दिनका दिन भगीरामकी आमा पनि त्यस्तै ज्वरो आएर प्राण गयो । भगिरामका बुबा त्यो भन्दा १६ वर्ष अघि नै मृत्यू भइसकेको थियो ।

‘छन् छोरा, छैनन् मेरा ….’ पारिवारिक स्थिति सबै बृतान्तपछि भगिरामले यो उखान सुनाए । उमेर ढल्किएपछि सहायता गर्नुपर्ने हुर्के बढेका छोराहरु सबै लाखापाखा लागे । यो परिवेशले भगिराम र कलौरीको दुख कति होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
छोराहरु साथमा नभए पनि लोकाचारका लागि पनि खेतीपाती धान्नै पर्ने हुन्छ, दुई सुर्का जग्गामा खेतीपाती गर्न मलपर्सो गर्नै प¥यो । मलका लागि भगिरामको दम्पतिले चार वटा गाई पालेका छन् । ती गाई पनि दुहुना होइनन् । घर आगनमा चिकिण्डो फल्न थालेको छ । बारीको डिलमा २०–२५ बोट केरा छन् । नगदे बाली यति मात्र हो । हिउँदमा आफूलाई खाने तरकारी लगाउँछन्, धाराबाट गाग्रीमा बोकी ल्याएको पानीले चारेर तरकारी उबाज्ने गरेका कलौरीले बताइन् ।

अंशमा पाउने खेत पाएनन्

आफ्ना बुबाका ४ भाई मध्ये माइलोको एक्लो छोरा भगिरामले बाजेकोबाट पाउनुपर्ने खेतका भाग नपाएको सुनाए । जेठा बुबाका एउटै छोरा गर्भे कामीले अंश दवाएको छिमेकी इन्द्रा शाहीलाई साक्षी राखेर सुनाए ।

जिउलाको फाँट खेत नापी हुँदै थियो, त्यति नै बेला भगिरामका नाबालक २ छोरा र आमाको मृत्यू भएका कारण काजकिरियामा व्यस्त भएको समयमा उनका दाजु गर्भेले एकलौटी रुपमा खेत आफ्नो नाममा गराए । ‘नापीपछि पनि दाईलाई रिजाउने प्रयास गरें तर उनले खेत दिएनन् । मेरो एक टुक्रा खेत छैन’ भगिरामले भने ।

‘छोराछोरीको हेलाँ हुँदा दाजुभाईले पनि हेपे । गाउँ समाजले पनि भन्यो, दाजुले खेतको भाग दिएनन् । बलियाले निर्दोलाई दबाउने रैछन्, घरको हेलाँ त परको पनि हेलाँ हुने रैछ’ कलौरीको दुखेसो छ ।

सरकारी सुविधाबाट पनि बञ्चित

यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा भैरबी गाउँपालिका ४ नं. वडा कार्यालयले भगिरामकी श्रीमती कलौरी कामीको नाम राखेको थियो । थाडा गाईलाई घाँसपात गर्नबाट फुर्सन नपाएकोले उनी रोजगार कार्यक्रममा गइनन् । रोगजार कार्यक्रममा गएका उनीहरुले झण्डै ७० हजारसम्म पाए, उनीहरु छुटे ।

सरकारले दिने सुविधामा यतिमै बिच्किएनन्, गएको मङ्सिरदेखि पाउनुपर्ने जेष्ठ नागरिक भत्ता पनि भगिरामले पाएका छैनन् । ‘२०१७ मङ्सिर १० गते’ जन्म मिति र नाम ‘भगी कामी’ लेखिएको नेपाली नागरिकताको प्रमाणपत्र र फोटो समेत अघिल्लो वर्ष नै पेश गरेका हुन् । ‘तिमीले अर्को वर्ष पाउँछौं भनेर वडाका कर्मचारीले भनेका छन्’ उनले सुनाए ।

नेपाल सरकारले गैरदलितहरुलाई ७० वर्ष दिने मासिक तीन हजार रुपैंयाँ जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दलितहरुका हकमा ६० वर्ष पुगेपछि पाउँछन् । कागज पेश गरेर पनि अहिले नपाए पनि सायद दशैंमा पाइएला भन्नेमा भगिराम बिश्वस्त छन् ।

आफूखुशी चलिरहेका तीनै जना छोराहरुले नागरिकता बनाएका छैनन्, उनीहरुको साथ पनि पाएका छैनन् । जेठा बुबाका छोरा अर्थात दाजुले अंश  दबाए । गाईगोठालाको कामले प्रधानमन्त्री रोजगार कार्यक्रममा छुट्यो । ८ महिनाअघि पाउनुपर्ने सामाजिक सुरक्षा रकम पनि दिइएन । भगिराम भन्छन् – ‘भाग्यले ठग्यो, कसलाई के भनूँ ?’



Leave a comment

Your email address will not be published.


*