मुंग्रो प्रहार गरी पतिको हत्या

मुंग्रो प्रहार गरी पतिको हत्या

दैलेख : दैलेखमा एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन् । नारायण नगरपालिका–११ टाटामाखु डाँडाटोलकी ३३ बर्षीया सुसिला मल्लले पतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । सुसिलाले पति ३५ बर्षीय खगेन्द्र मल्लको हत्या गरेको प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए ।

सुसिलाले शुक्रवार विहान साढे ९ बजे पति खगेन्द्रलाई मुङग्रोले टाउकोमा प्रहार गरेको डिएसपी श्रेष्ठले बताए । घरमा भएको किला ठोक्ने काठको मुङग्रोले पति खगेन्द्रको टाउकोमा हानी हत्या गरेको जाहेरी दरखास्तका आधारमा प्रहरीले सुसिलालाई नियन्त्रणमा लिएको छ ।

खगेन्द्रले मदिरा सेवन गरी निरन्तर पीडा दिने गरेको, घरेलु हिंसा गरेको र श्रीमानले दिएको पीडा सहन नसकी पतिको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘खगेन्द्रले मदिरा सेवन गरेर पत्निलाई तनाब दिने गरेको, घरेलु हिंसा सहित दुःख दिने गरेको कारण सुसिलाले पतिको हत्या गरेको हुनसक्ने प्रारम्भीक अनुसन्धानले देखाएको छ,’ डिएसपी श्रेष्ठले भने ‘हामीले घटनाको विस्तृत अनुसन्धान थालेका छौँ, अनुसन्धानले सबै खुल्छ ।’ मृतक खगेन्द्रको शुक्रवार नै दैलेख अस्पतालमा पोस्टमार्टम गरिएको छ । सुसिला र खगेन्द्रका क्रमशः १२, ८ र ४ बर्षीया छोरीहरु रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया