राउटे युवतीबारे गलत प्रचार गर्नेलाई कारबाहीको माग

राउटे युवतीबारे गलत प्रचार गर्नेलाई कारबाहीको माग


दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले राउटे युवती सम्झना शाहीबारे गलत प्रचार गर्नेलाई कारबाहीको माग गरेको छ । आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै सोसेकले राउटे युवती सम्झनाबारे गलत प्रचार गर्ने युट्युब च्यालन र युट्युब सञ्चालनलाई कारबाही गर्न माग गरेको हो ।
‘पछिल्लो समय मानव सभ्यताको ईतिहास बोकेको लोपोन्मुख राउटे समुदायमाथी गलत प्रचार गर्ने प्रवृति मौलाएको छ, हालै राउटे समुदायकै युवती सम्झना शाहीलाई युट्युव च्यालनको हेडलाइनमै ‘अस्ताइन् सम्झना राउटे’ शीर्षक राखेर गरिएको गलत प्रचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ‘नेपाल खबर नामक एक युट्युव च्यानलले ‘अस्ताइन् सम्झना, हत्या कि आत्महत्या’ शीर्षक राखेर गरिएको गलत प्रचारले सम्झनाको मानव अधिकारको हनन् भएको छ ।’
संस्थाका कार्यवहाक अध्यक्ष टिकादेवी जैसीद्धारा हस्ताक्षरित विज्ञप्तीमा सम्झनाको पुरानो तस्विर प्रयोग गरेर जीउँदो व्यक्तिलाई आपत्तीजनक शव्द प्रयोग गरी मृतक घोषणा गर्ने युट्युव च्यानल र उक्त युट्युव च्यानल सञ्चालकमाथी अनुसन्धान गरी तत्काल कानूनी कारबाही गर्न माग गरिएको छ ।
राउटे समुदायका युवतीमाथी बाह्य समुदायबाट हिंसा, यौनजन्य जोखिम र गलत प्रचार बढ्दै जानु दुःखद भएको विज्ञप्तीमा उल्लेख छ । संस्थाले समग्र राउटे समुदायको मानव अधिकार संरक्षण, समुदायको पहिचान,मौलिकता, ईतिहास, परम्परा र लिपी र भाषाको संरक्षण तथा प्रवद्र्धनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
लोपोन्मुख राउटे समुदाय दैलेखको गुराँस गाउँपालिकाको स्थायी बासिन्दा हुन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई गाउँपालिकाले स्थायी बासिन्दाको परिचयपत्र उपलब्ध गराईसकेको छ । कर्णाली प्रदेशको विभिन्न जिल्लाका जंगलहरुमा घुमन्ते जीवन बिताइरहेको राउटे जातीको आफ्नै भेषभुषा, रितिरिवाज र परम्परा र संस्कृति छ । हाल उनिहरु सल्यानको कालिमाटी गाउँपालिका–५ काल्चेमा बसोबास गरिरहेका छन् ।

प्रतिक्रिया