घरेलु मदिरा पिएका चार मजदुरको मृत्यु, दुई गम्भीर

घरेलु मदिरा पिएका चार मजदुरको मृत्यु, दुई गम्भीर

फाइल तस्विर ।

बागलुङ :घरेलु रक्सी सेवन गरेका चार जना मजदुरको ज्यान गएको छ। गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले घरेलु मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सोमबार राति बाटोमै ज्यान गएको हो।

रोल्पा सुनिल स्मृति गाउँपालिका-५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए। ‘मजदुरी गर्दै आएका १४ जनामध्ये ६ जनाले गलकोट नगरपालिका-७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बिरामी परेको देखिन्छ,’ डीएसपी हवारीले भने, ‘यसबारे हामी थप अनुसन्धान गरिरहेका छौँ।’

अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए। रोल्पा सुनिलस्मृति गाउँपालिका- ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको छ।‘लोकल रक्सी खाएको भन्ने बुझिएको छ, त्यसबाट उनीहरुमा पोइजनिङको समस्या भएको देखिन्छ, दुई जनाको किड्नीमा असर गरेको छ,’ डा.पोखरेलले भने, ‘दुवै जनाको डायलासिस गरिरहेका छौँ, रक्सीले तत्कालै गम्भीर असर गरेको देखिन्छ।’

प्रतिक्रिया