बार–बेन्चको निर्णय : अब दुनियावादी मुद्दा पनि दर्ता हुने

बार–बेन्चको निर्णय : अब दुनियावादी मुद्दा पनि दर्ता हुने

दैलेख : दैलेख जिल्ला अदालतले साउन १० गतेदेखि दुनियावादी मुद्दाहरु पनि दर्ता गर्ने भएको छ । अदालत प्रशासन र नेपाल बार एशोसियनको संयुक्त वैठकबाट कोरोना रोकथामका उपाय अवलम्वन गर्दै न्यायिक कार्य सुचारु गर्ने निर्णय भएको दैलेख जिल्ला अदालतका रजिष्ट्रार इन्दबहादुर कार्कीले जानकारी दिए ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको अध्यक्षतामा मंगलवार बसेको वैठकले साउन १० गतेदेखि व्यक्तिले सोझै अदालतमा दिन सक्ने, निषेधाज्ञाका कारण रोकिएका सबै मुद्दाका तारेखहरु साउन १५ गतेदेखि लागू हुने गरी ३० दिनभित्र लिन पाउने र साउन १७ गतेदेखि अदालत प्रशासनले पेशी तोक्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको दर बढेपछि गत वैशाख २१ गतेदेखि लागू भएको निषेधाज्ञापछि यातायात बन्द भएको कारण मुद्दाका पक्षहरु हाजिर हुन कठिनाई परेको जनाउदै व्यक्तिले दिने दुनियावादी मुद्दा दर्ता र तारेखमा रहेका सरकारवादी समेतका पक्षहरुको म्याद नगुज्रिने गरी हाजिर हुन रोकिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले कोेरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गरी यातायात खुलाएको कारण दैलेख अदालतको बार–बेञ्चको निर्णयबाट दुनियावादी मुद्दाहरु दर्ता गर्ने र यस अघि निषेधाज्ञाका कारण रोकिएका तारेखहरु लिन पाउने व्यवस्था गरिएको नेपाल बार एशोसियनका सचिव प्रेमबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया