मैले सुनेको र देखेको पलाँता

        लक्षमण कुमार कार्की   |   प्रकाशित मितिः आइतवार, साउन १०, २०७८     ::: 385 पटक पढिएको   |  

कालिकोट कर्णाली प्रदेश अन्तर्गत रहेको एक हिमाली जिल्ला हो । वि.स २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन पछि कर्णाली अञ्चलका ५ जिल्ला मध्ये तिब्रिकोटको रुपमा कालिकोट जिल्लाको नाम रहन गयो । यस जिल्लालाई २०३२ सालमा कालिकोट नामाकरण गरियो । त्यसैले कालिकोट जिल्लालाई नेपालको कान्छो जिल्ला पनि भनिन्छ ।

यस जिल्लामा राज्य पुर्नसंचना अनुसार ३ नगरपालिका र ६ गाउँपालिका रहेका छन् । ६ वटा गाउँपालिका मध्ये पलाँता एक गाउँपालिका हो । नयाँ संरचना अनुसार साविकका ३ गाविसहरु खिन, धौलागोह र थिर्पु मिलाएर पलाँता गाउँपालिका बनेको छ । गाउँपालिकालाई ९ वडामा विभिजित गरिएको छ । गाउँपालिकाको कुल क्षेत्रफल ३१८.८४ वर्ग कि.मी रहेको छ । गाउँपालिकाको कुल जनसंख्या १५३०३ छ ।

पलाँताको पूर्वमा जुम्ला, पश्चिममा पचाँलझरना गाउँपालिका र बाजुराको सिमाना, उत्तरमा मुगु र दक्षिणमा पचाँलझरना गाउँपालिका र तिलागुफा गाउँपालिका रहेको छन् । बाहीरी जिल्ला बस्नेहरु पलाँतालाई रोग, भोग, अभाव, अशिक्षा र परनिर्भरताले भरिएको पालिका ठान्दछन् । बास्तविकता भने यस्तो छैन् । दैलेखमा बसेर पलाँता सुन्दा र आफैले प्रत्यक्ष देख्दा धेरै फरक पाएँ । सुनेको र देखेको पलाँता फरक रहेछ । दैलेख सदरमुकाम, तल्लो डुङ्गेश्वर, राकमकर्णाली, जिते बजार, लालिघाट, घाटाचौर हुँदै पलाँता गाउँपालिका पुगेर फर्किए । सडक नपुग्दै भएको चर्चा र मैले देखेको पलाँता अत्यन्तै फरक पाएँ ।

त्यहाँका मानिसहरु खाना नपाएर तड्पिएका, फोहोरी होलान्, सबैतिर अभावै अभाव होला जस्तो अनुमान गरेको थिएँ । तर, ठिक विपरित यहाँका मानिसहरु सफा, चिटिक्क, सुखी, खुसी देखेँ । हुनत म आफै पहाडी क्षेत्रमा जन्मेर हुर्केको भएर होला, मलाई दैलेखदेखि जिते हुँदै पलाँता प्रचार भएको जस्तो अफ्ठेरो लागेन् । तर पनि कालिकोट जिल्लामा पहिलो पटक गएको हुँदा त्यहाँ चट्टान खोपेर, भीर फुटाएर नेपाली सेनाको कर्णाली पारीको निकै राम्रो काम, सडक निर्माण गरेको सुनेको थिएँ । त्यहाँ पुगेर प्रत्यक्ष देख्दा अत्यन्तै खुसी लाग्यो । तर, सडकको स्तरोन्नती र मर्मतमा भने ख्याल नगरेको पाउँदा अलि दुःख लाग्यो । यस पलाँता गाउँपालिकामा जाने बाटो निर्माण भएपनि बिचमा कर्णाली नदिका कारण यातायातका साधन भने सजिलै ओहोर दोहोर गर्न सक्दैनन् ।

कर्णली राजमार्गबाट नजिकै रहेको जितेगडाको कर्णाली नदिबाट यातायातका साधनहरु वारपार गर्ने उच्च जोखिम मोलेर फेरीको प्रयोग गरी गाडी तार्ने काम गर्दछन । लाँलीघाटमा सवारी साधन रोकिएका हुन्छन् । त्यहाँबाट पलाँता गाउँपालिकाको केन्द्र पुग्न गाडीमा झण्डै ३ देखि ४ घण्टा लाग्छ । घाटाचौर पुगेपछि सवारी साधनहरु गाउँपालिकाको केन्द्रसम्म पुग्दैनन् । कारण जिते हुम्ला कर्णालीले छेकेको छ । पुल नभएका कारण सवारी साधन हुम्ला कर्णाली तर्न सक्दैनन् । त्यस कारण, लाँलीघाट पुगेका जो कोही यात्रुहरु हुम्ला कर्णालीमा रहेको झोलुङ्गे पुलको सहायताले गाउँपालिका पुग्छन् ।

यस्तो समस्याका बावजुत पनि २०७६ फागुन १ गते गाउँपालिकाका अध्यक्ष लक्षमण बमको पहलमा पेट्रोल भर्न प्रयोग गरिने खाली ड्रमको सहायताले गाउपालिकाले दुई वटा जीप गाउँपालीकामा भित्रिएको छ । त्यसबेला पलाँताका नागरिक अत्यन्तै हर्सित भएका थिए । गाडि गाउँपालिकामा पुगेसंगै चारैतिर बाटो खन्ने कार्य तिब्र गतीमा अगाडी बढिरहेको छ । अहिले घाटाचौरबाट थिर्पु गाडी तार्नको लागि फेरी मार्फत गाडी तार्ने बन्दोबस्त मिलाईदै छ ।

गाउँपालिकामा विभिन्न जातजातीका मानिसहरु बसोबास गर्दछन । यहाँका बासिन्दाहरु ९० प्रतिशत भन्दा बढि नागरिकहरु कृषि पेशामा आश्रीत छन् । यद्धपी सिंचाईको असुविधा, खेतीयोग्य जमिनको कमीका कारण यहाँका बासिन्दाले बेला बेला भोकमारी झेल्नु पर्छ । यहाँ जौ, धान, मकै, कोदो, फापर, अदुवा, खुर्सानी, बेसार आलु, स्याउ, ओखर, मौसमी, बेमौसमी तरकारी लगाएतका खेती गरिन्छ । पलाँताका नागरिकहरुले घरपालुवा जनावर मध्ये गाई, बाख्रा, गोरु, भेडा, भैसी पाल्ने गर्दछन् ।

यहाँ सामान ओसार–पसार लागि घोडा, खच्चर पाल्ने गरेको पाईन्छ । यस पालिकामा केही स्थानमा जलविद्युत आयोजना सञ्चालन गरी उर्जाको जोहो गरिएको छ । पलाँतामा केहि साना जलबिद्युत आयोजना सञ्चालनमा आएका छन् । जसले यहाँका जनताले बत्तिको उपभोग गर्न पाएका छन् । गाउँपालीकामा स्वास्थ्य, शिक्षाको पनि राम्रो व्यवस्थापन राम्रै भएको छ । विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब सहित सञ्चालनमा आएका विद्यालय गाउँपालिकामा छन् ।

केहि दिन त्यहाँ बसेर युवाहरुलाई आफ्नै गाउँ–ठाउँमा पौरख गरेर आत्मनिर्भर बन्न पनि प्रेरित गरेँ । साथै कालिकोट जिल्लाकै समस्याको रुपमा रहेको महिलाहरु महीनावारी हुँदा छाउगोठमा बस्ने समस्या पलाँतामा पनि व्यापक छ । महिलाहरु महिनावारी भएको बेला घर बस्दा देवी देवता लाग्ने, घरपरिवारका सदस्यहरु बिरामी हुने अन्धविश्वासले पाँच देखि सात दिनसम्म छाउगोठमा बस्छन् । यहाँका शिक्षित वर्ग मानिने स्वास्थ्य स्वमसेविका र शिक्षिका समेत छाउगोठमा बस्न जाने गरेको पाइन्छ ।

पहिलो पटक महिनावारी हुँदा किशोरीले आमाबुबा, दाजुभाईलाई मुख देखाउनु हुँदैन भन्ने अन्धविश्वासले महिनावारीका ५ दिनसम्म घर बाहिर लुकेर बस्ने चलन यहाँ रहेछ । पलाँतामा महिनावारी भएको बेला दुध, दही, घ्यू खान नदिने र घरमा बस्न नदिने चलन छ । यस्तो प्रचलन देवी देउताको मन्दिर भएका वा धामी पुजारी भएका घरमा अझ बढि हुने गर्दछ । यहाँका बालबालिकाहरु निकै मेहनती र उर्जाशिल देखिन्छन् । तर बालबालिकाहरु २० वर्ष नपुग्दै विवाह गरेर घरजम गर्ने प्रचलन कायमै छ । सानै उमेरमा विवाह गरेर ठुलो भएपछि पश्चातापमा पर्ने गरेको स्थानीय आफै बताउँछन् ।

पहिले पहिले अधिक मात्रामा भएपनि विगत २ वर्ष भन्दा बढी पलाँता गाउँपालिकाको सम्वन्य र एईआईएन लक्जेम्बर्गको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित कार्यक्रमले गर्दा त्यहाँका मानिसहरुको चेतनाको स्तर माथी उठेको छ । अहिले आएर सानै उमेरमा विवाह गर्नु नहुने र छाउपडी वा छाउगोठमा बस्नु एउटा अन्धविश्वास मात्र भएको स्थानीय बासिन्दाले बुझ्न थालेका छन् ।

महिला बालबालिकाको क्षेत्रमा थुप्रै उदारणीय काम गरेर आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखलाई तथा किडार्क नेपाललाई पलाँता गाउँपालिका बासी नागरिकले भगवानको एक स्वरुपको रुपमा लिइएको पाईन्छ ।यसरी सामाजिक सेवाको लागी सदैव अग्रसर भईरहेको संस्थाहरुलाई थप उर्जासहित पलाँता जस्तो ग्रामिण भेगमा भएका कुरिती कुसंस्कारहरु अन्त्य अन्य भएको हेर्न पाइयोस्, शुभकामना ।

अन्त्यमा, अब आर्थिक त्रान्तिको लागि पलाँता गाउँपालिका बासी आम नागरिकले आफु सँग जे छ त्यही लिएर अगाडी बढ्नुपर्छ र त्यहीबाट सुरुवात गर्नु पर्दछ । आत्मविश्वासका साथ पौरख गर्न सके समृद्ध नेपाल बनाउन सकिन्छ । कालिकोटको यस गाउँपालिकाको छाती चिर्दै बगेको नदिनालाबाट सयौं मेगावाट विजुली उत्पादन को सम्भावना छ । गरे सबै सम्भव छ । अब समृद्ध नेपाल निर्माणको सपना पुरा हुने दिने धेरै टाढा छैनन् ।

 

 

 



4 Comments on मैले सुनेको र देखेको पलाँता

  1. Laxmankumar Karki // July 25, 2021 at 7:56 pm // Reply

    Laxmankumar Karki

  2. सान्दर्भिक लेख धन्यवाद लक्ष्मण जि

  3. Nama Raj Neupane // July 26, 2021 at 1:57 pm // Reply

    बास्तबिक भनाई

  4. Laxman karki // July 26, 2021 at 5:04 pm // Reply

    धन्यवाद ।

Leave a comment

Your email address will not be published.


*