रक्तस्राव भएपछि हेलिकप्टरबाट सुत्केरीको उद्धार

रक्तस्राव भएपछि हेलिकप्टरबाट सुत्केरीको उद्धार

अत्यधिक रक्तस्राव भएर सिकिस्त बनेकी जुना विकलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिँदै ।

दैलेख : दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका–९ को दुर्गम गाउँ छेपाडीकी २५ बर्षीया जुना विकलाई मंगलवार विहानदेखि असहज लाग्यो । उनलाई सुत्केरी व्यथाले च्यापेको परिवारले चाल पाएँ । लगत्तै परिवार र आफन्तहरुले गाउँमै रहेको बर्थीङ सेन्टरमा पु¥याए । मंगलवार दिउँसो २ बजेतिरै जुनाले दोस्रो सन्तानको रुपमा छोरा जन्म दिइन् । उनको पहिलो सन्तानको रुपमा छोरी छिन् । नर्मल डेलिभरीमार्फत छोरा जन्मिएको दुई घण्टापछि रक्तस्राव सुरु भयो । सुत्केरी भएपछि अत्याधिक रक्तस्राव भएसँगै ज्यान जोखिममा पर्ने डरले जुनाका आफन्तहरु आत्तिए ।

जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार हुन्छ भन्ने थाहा पाएका जुनाका आफन्तले जिल्ला प्रशासन कार्यालय दैलेख, कर्णाली प्रदेश सरकारसँग गुहार मागे । तर मौषम खराबीका कारण उनको उद्धार हुने सकेन् । हेलिकोप्टरमार्फत उद्धार हुन नसकेपछि जुनाका आफन्तले ३ घण्टा टाढा रहेको ठाटीकाँध गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा स्टेचरमा बोकेर ल्याईपु¥याए । उनको सोहि केन्द्रमा उपचार थालियो ।

मंगलवार दिउँस ४ बजेदेखि अत्यधिक रक्तस्राव भएर सिकिस्त बनेकी जुनाको २० घण्टापछि बुधवार दिउँसो १२ बजे उद्धार गरिएको छ । ‘हिजो नै हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी थियो तर मौषम खराबीका कारण उद्धार हुन सकेन्,’ जुनाका जेठाजू प्रभाकुमार विश्वकर्माले भने ‘नवजात शिशुको अवस्था सामान्य छ, बुहारीलाई छिट्टै निको भईदिए हुन्थ्यो ।’ जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा जुनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार थालिएको विश्वकर्माले बताए ।

प्रतिक्रिया