देउता चढेको निहुँमा सुत्केरी पत्नीमाथि क्रुर यातना

देउता चढेको निहुँमा सुत्केरी पत्नीमाथि क्रुर यातना

दैलेख : दैलेखमा ४ महिने सुत्केरी सख्त घाइते भएकी छिन्। जिल्लाको भैरबी गाउँपालिका–५ गौरीसल्लाकी २६ वर्षीया हस्तना नेपाली सख्त घाइते भएकी हुन्।  पति २६ वर्षीय दिपक नेपालीले आफ्नो शरीरमा देउता चढेको निहुँमा तातो पानी खन्याउने तथा अगुल्टोले हानेर हस्तनालाई घाइते बनाएका हुन्। उनको अहिले जिल्ला सदरमुकामस्थित दैलेख अस्पतालमा उपचार भइरहेको छ।

पत्नीलाई निरन्तर कुटपिट गरी यातना दिइरहने दिपकले देउता चढेको बाहानामा हस्तनामाथि तातो पानी खन्याउनुका साथै अगुल्टोले प्रहार गरेको थिए। गत बिहीबार राती ९ बजे मदिरा सेवन गरी मातेर घर पुगेका दिपकले आफूलाई देउता चढेको भन्दै पत्नीको जिउमा तातो पानी खन्याएको हुन्। तातो पानी खन्याउनुका साथै पतिले ढाडको दाहिने भाग र अनुहारको देब्रे भागमा अगुल्टोले प्रहार गरेको हस्तनाको भनाइ छ।

‘पतिले अगुल्टोले हान्दै गरेको बेला भागेर आँगनमा पुगी छिमेकीहरुसँग गुहार मागें, छिमेकीहरुले उद्दार गरेर राती नै डाँडीमाथिकै स्थानीय मेडिकलमा सामान्य उपचार भयो’, हस्तनाले भनिन्।

घटनाबारे शुक्रबारमात्रै प्रहरीमा खबर पुगेको थियो। प्रहरी चौकी डाँडीमाडीले पीडित हस्तनालाई दैलेख अस्पताल पुर्याएको थियो। हस्तनाको शरीरको १३ प्रतिशत भाग जलेको दैलेख अस्पतालमा डा. जगत थापाले बताए। ‘हस्तनाको स्वास्थ्य सुधारोन्मुख र खतरामुक्त छ, उनको उपचार यहीँ सम्भव छ’, डा. थापाले भने।

पीडक दिपकलाई प्रहरीले पक्राउ गरिसकेको छ। दिपकलाई पक्राउ गरेर हिरासतमा राखेर कानुनी पक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए। दिपकविरुद्ध माइती पक्षले आइतबार प्रहरीमा जाहेरी दिएको छ। हस्तनाकी आमा पाना दमाईले कारबाहीको माग गर्दै दिपक विरुद्ध जाहेरी दिएकी छिन्। पाँच वर्ष अघि दिपकसँग विवाह गरेकी हस्तना दुई छोरीको आमा हुन्।

उनको ३ वर्षीया र ४ महिने छोरी छन्। हस्तनाका बुबा कपुरे दमाईले छोरीलाई यातना दिने दिपकलाई कडा कारबाही गर्न माग गरेका छन्। ‘मेरी छोरी, ४ महिने सुत्केरी जलाउन खोज्ने दिपक (ज्वाइ) लाई कडा कारवाही हुनुपर्छ’, उनले भने।

प्रतिक्रिया