राउटे समुदायका गर्भवती महिलालाई फलफूल

राउटे समुदायका गर्भवती महिलालाई फलफूल

दैलेख : लोपोन्मुख जाती राउटे समुदायका गर्भवती महिलाहरुलाई फलफूल वितरण गरिएको छ । एईआएन लक्जेम्वर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित राउटे परियोजनाले फलफूल दिएको हो ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–१ मा बस्दै आएका राउटे समुदायका पाँच जना गर्भवती महिलाहरुलाई फलफूल उपलब्ध गराइएको परियोजना मार्फत बस्तीमा खटिएका जोडी शिक्षक लालबहादुर खत्रीले बताए । उनिहरुलाई स्याउ, अनार, केरा लगाएतका फलफूल दिइएको खत्रीले बताए ।

लोपोन्मुख जाती राउटे मानव सभ्यताको ईतिहास बोकेको दक्षिण एसियाको एकमात्र अन्तिम भ्रमणशिल समुदाय हो । कर्णालीमा घुमन्ते जीवनयापन गरिरहेका उनिहरु आफ्नै मान्यता तथा मौलिकताभित्र रहि जीवनयापन गरिरहेका छन् ।

सिकार गर्नु, काठका सामान निर्माण गरी खाद्यान्नसँग साट्नु नै राउटेको जीविकोपार्जनको मुख्य स्रोत हो । स्थायी रुपमा एकै ठाउँमा नबस्ने र बस्ती सरिरहने राउटेको अर्को विशेषता नै हो । धार्मीक, सांस्कृतिक र मौषम अनुसार राउटे एक ठाउँबाट अर्कोठाउँमा बसाई सरिरहन्छन् ।

मुख्यतया दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र दाङ जिल्लाको जंगलहरुमा फिरन्ते जीवनयापन गर्दै आएको राउटे खाम्ची भाषा बोल्ने गर्दछन् । रास्कोटी, कल्याल र सोमबंशी गरी तीन थर रहेको राउटेको राउटे समुदायमा ४४ घरधुरीको जनसंख्या १ सय ४० छ ।

प्रतिक्रिया