बाल हेल्पलाइन भवन निर्माणमा सहयोग गर्छु : सांसद शर्मा

बाल हेल्पलाइन भवन निर्माणमा सहयोग गर्छु : सांसद शर्मा

दैलेख : प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले बाल हेल्पलाइन १०९८ को भवन निर्माणमा सहयोग गर्ने बताएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको २४ औँ साधारण सभा, बार्षीक उत्सब तथा ९ औँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सांसद शर्माले संस्थाद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ को भवन निर्माणको कामलाई पुरा गर्ने उद्घोष गरेका छन् ।

संस्थाद्धारा सञ्चालित बाल हेल्पलाइनको भवन निर्माणाधिन अवस्थामा रहेको र बजेट अभावमा निर्माण कार्यले पुर्णता पाउन नसकेको जानकारी पाएको बताउँदै सांसद शर्माले भवन निर्माणको कामलाई पुरा गर्नु बताएका हुन् । उनले संस्थाद्धारा सञ्चालित एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउने पनि बताए । सांसद शर्माले संस्थाले दलित, महिला, बालबालिका, गरिबीको रेखामुनी रहेको समुदाय, अपाङ्गता भएका व्यक्ति तथा लोपोन्मुख राउटे समुदायको सवालमा गरेको कामको प्रशंसा समेत गरे । जातीय विभेद, बाल विवाह र छाउपडीप्रथा विरुद्ध सोसेक नेपालले सञ्चालन गरिरहेको अभियानले सभ्य समाज निर्माणमा टेवा पु¥याउने सांसद शर्माले विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेस दैलेखका कोषाध्यक्ष पूर्णबहादुर चालिसेले कठिन समयमा पनि सोसेक नेपालले महत्वपूर्ण कामहरु गरेको बताए । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले सोसेक र प्रहरीको समन्वय र सहकार्यमा जिल्लामा महिला तथा बालबालिकाको सवालमा थुप्रै सकारात्मक कामहरु भएको बताए ।

संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले आत्मा साक्षी राखी मन, बचन र कर्मले सेवा गरौँ भन्ने मुल नारा बोकेर संस्थाले महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशील भई क्रियाकलापहरु सञ्चालन गरिरहेको   बताए । उनले संस्थालाई यो स्थानसम्म ल्याईपु¥याउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरे ।

संस्थाका कार्यवाहक अध्यक्ष टिकादेवी जैसीले संस्थाको २४ औँ बार्षीक उत्सबको अबसरमा जोखिममा परेका महिला, बालबालिका तथा समुदायलाई सहयोग पु¥याउन अनवरत खटिरहनुभएका सम्पूर्ण कार्यसमितिका सदस्यज्यूहरु, साधारण तथा आजिवन सदस्य, कर्मचारी, विकास साझेदार संस्था लगाएत शुभेच्छुकहरुप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाले बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा काम गर्दै आएको बताइन् ।

उद्घाटन समारोहमा सोसेक नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार समिती संयोजक सिता राना, पूर्व अध्यक्ष दुर्गा श्रेष्ठ,कार्यक्रम निर्देशक नवराज बिसी, नागरिक समाज दैलेखका अध्यक्ष खड्गबहादुर सिजापती, नेपाल पत्रकार महासंघ दैलेखका सचिव भक्त बहादुर शाही लगाएतले संस्थाको साधारण सभा, बार्षीक उत्सब तथा ९ औँ अधिवेशन सफलताको शुभकामना दिएका थिए । कार्यक्रम परियोजना अधिकृत सजना सुनारले सञ्चालन गरेकी थिइन् भने सोसेक नेपालका कार्यसमिति सदस्य महेन्द्रकुमार कार्कीले स्वागत गरेका थिए ।

२४ औँ साधारण सभा, बार्षीक उत्सब तथा ९ औँ अधिवेशन उद्घाटन समाराेहमा महासचिव मञ्जु खड्काले संस्थागत बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष कृष्णा रावतले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सोहि अबसरमा संस्थाको संस्थागत विकासमा महत्वपूर्ण सहयोग पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया