कर्णाली करिडोरमा जिप दुर्घटना :चालकको मृत्यु, ११ जना घाइते

कर्णाली करिडोरमा जिप दुर्घटना :चालकको मृत्यु, ११ जना घाइते

कालीकोट : कर्णाली करिडोरमा आइतबार बिहान जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सान्नी त्रिवेणी गाउँपालिका-२ रकु सेरिजीउला घर भएका २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।

खुलालु लैफू सडकखण्ड अन्तर्गत कालीकोटको सान्नीत्रिवेणी-२ रकु आमतडामा क १ ज २३ न को जीप आमतडाको उकालोमा चढ्न नसकेर कर्णाली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ ।शाहका अनुसार उकालोमा आमतडाको ढुंगाको चट्टान भएको उकालोमा जीप चढ्न नसकेर पछाडी गुडेर कर्णाली नदीको किनारामा खसेको हो ।

करिडोरको भौरेकुनामा पनि पहिरो खसेकोले घाइतेलाई अस्पताल ल्याउन नसकिएको प्रजिअ कृष्णप्रसाद आचार्यले बताए । उनले हेलिकप्टरको लागि कुरा भए पनि प्रतिकूल मौसमले हेलिकप्टर आउनसक्ने अवस्था नरहेपछि जिल्ला सदरमुकाम मान्मबाट प्रहरी निरिक्षक भूपेन्द्र शाहीको नेतृत्वमा प्रहरीलाई घटनास्थल पठाइएको बताए ।

कर्णाली करिडोर खुलालु-लैफू-सल्लीसल्ला सडक वर्षाले ठाउँ ठाउँमा अवरुद्ध छ । करिडोरको ठाउँठाउँमा पहिरो खसेर हिलाम्मे भएकाले अवरुद्ध भएको पचालझरना गाउँपालिकाका अध्यक्ष खडकराज सेजुवालले बताए ।कालीकोटको खुलालुदेखि सल्लीसल्लासम्मको १ सय २२.७५ किमि सडक नेपाली सेनाले निर्माण सम्पन्न गरेर गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया