एमाले विभाजनको असर : दैलेखका स्थानीय तहमा साठी–चालिस

एमाले विभाजनको असर : दैलेखका स्थानीय तहमा साठी–चालिस

दैलेख : नेकपा (एमाले) भित्रको विवाद औपचारिक विभाजनमा पुगिसकेपछि दैलेखका स्थानीय तहका जनप्रतिनिधिहरु पनि आफ्नो समर्थन कहाँ रहने भनेर खुलाउन थालेका छन् । प्रष्ट रुपमा खुलेका हिसावले एमालेमा रहने झण्डै ६० प्रतिशत र नेकपा (एकीकृत समाजवादी) समर्थन गर्ने झण्डै ४० प्रतिशत देखिएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय तहमा ७ वटा स्थानीय तह जितेको १४ जना प्रमुख तथा उपप्रमुख मध्ये ८ जना एमालेमै रहने जनाएका छन् भने ६ जनाले एकीकृत समाजवादीमा जाने औपचारिक रुपमा मुख खोलेका छन् ।
जिल्लाका ११ स्थानीय तहका ९० वडा मध्ये ५३ वटा वडाहरुमा वडाध्यक्ष सहित सबैजसो वडा सदस्य जितेको एमालेका ३१ जना वडाध्यक्ष एमालेमै रहने जनाएका छन् ।

यस्तै कम्तीमा २२ जना वडाध्यक्षले एकीकृत समाजवादी जाने बताएका छन् ।स्थानीय तहका एमालेबाट जितेका प्रमुख तथा उपप्रमुख मध्ये मूलघर एमालेमै रहनेहरु ८ जनाको संख्या त्यो पार्टीबाट जितेकाहरुको ५७ दशमलव १५ प्रतिशत हुन्छ भने एकीकृत समाजवादीमा जान चाहनेहरुको संख्या ६ जना चाहिँ ४२ दशमलव ८५ प्रतिशत समर्थन देखिएको छ ।

दैलेखका ११ स्थानीय तहका ९० वटा वडा मध्ये ५३ वडा जितेको एमालेका ३१ जना मूलघरमा रहने जनाएका समर्थकहरुको संख्या पनि ५८ दशमलव ५० प्रतिशत र एकीकृत समाजवादी गोलबन्द हुन चाहेका २२ जना वडाध्यक्षहरुको संख्या ४१ दशमलव ५० प्रतिशत हुन्छ ।

निर्वाचन आयोगले भदौ ९ गते एमालेबाट अलग भई माधव नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई मान्यता दियो । आयोगले यस्तो निर्णय गरेसँगै अन्ततः एमाले विभाजित हुन पुग्यो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको इगोका कारण एमाले औपचारिक रूपमा विभाजन भएको छ । एमाले विभाजनको अवस्थामा आउनुअघि पार्टीमा लामो रस्साकस्सी चलेको थियो ।

 

प्रतिक्रिया