माधव नेपालले छुट्टै वाम मोर्चा बनाएर एमालेलाई सकाउन खोज्नुभयो : ज्ञवाली

माधव नेपालले छुट्टै वाम मोर्चा बनाएर एमालेलाई सकाउन खोज्नुभयो : ज्ञवाली

सुर्खेत : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एउटै विचारमा चल्ने गरी अर्को पार्टी दर्ता गरेर माधवकुमार नेपालले गल्ती गरेको बताएका छन्।प्रदेशका कार्यक्रममा भाग लिन कर्णाली प्रदेशमा आएका उपाध्यक्ष ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अहिले नेपालले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) बारे भोलि जनतालाई स्पष्ट पार्न उनलाई नै गाह्रो पर्ने बताए।

‘उहाँले अर्को पार्टी बनाएर ठूलो गल्ती गर्नुभएको छ, एउटै विचार र सिद्धान्तमा चलेर अर्को पार्टी बनाउनु जायज होइन,’ उनले भने। हिजो भएका गल्ती कमजोरीलाई आधार बनाएर पार्टीलाई विभाजन गरिएको बताउँदै ज्ञवालीले सच्चिइसकेका हिजोका गल्तीलाई बिर्सिएर अगाडि बढ्न आग्रह गरे। नेपालले छुट्टै वाम मोर्चा बनाएर एमालेलाई सकाउन खोजेको आरोप ज्ञवालीले लगाएका छन्। नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि पहिले नेकपा एमाले जोगाउन आवश्यक रहेको बताउँदै उनले पार्टीभित्र भएका समस्या आन्तरिक रूपमै समाधान गर्नु पर्नेमा जोड दिए।

‘म उहाँलाई पनि अनुरोध गर्न चाहन्छु, एउटा वाम मोर्चा बनाएर एमालेलाई सकाउने काममा नलाग्नुस्। लागे पनि जित्ने सम्भावना छैन,’ ज्ञवालीले भने, ‘एमालेको मत खोसेर बलियो हुन्छौं भन्ने योजना छ भने त्यो गलत हुनेछ, जनताले बुझिसकेका छन्।’ यसअघि एमालेमा समूहगत विभाजन हुँदा माधवकुमार नेपाल समूहमा रहेर आफूहरूले गतिविधि गरे पनि पछि त्यसभित्रै भएको अन्तर्विरोधका कारण आफूहरू एमालेमै लागेको उनले बताए। त्यस क्रममा पार्टी एकता गर्ने र विभाजन गर्ने विषयमा अन्तर्विरोध भएको उपाध्यक्ष ज्ञवालीले बताए।

‘हामीले उहाँहरूलाई विश्वास दिलाउन एक महिना प्रयास गर्यौं, तर उहाँले अचानक पार्टी दर्ता गराउनुभयो,’ उनले भने, ‘त्यो कुरामा हामी १० जना जति साथीहरू सहमत थिएनौं, विभाजन नचाहेर हामी एमालेमै आयौं।’ केपी ओलीसँग रहेर सहकार्य गर्ने मनस्थिति नेपालको नभएकाले विभाजनमा लागेको ज्ञवालीले बताए।

अहिले एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनको चरणमा रहेकाले समाजवादीतर्फ लागेका र लाग्ने मनस्थिति बनाएका नेता ता कार्यकर्तालाई पनि एमालेमै फर्किन ज्ञवालीले आग्रह गरे। पार्टीभित्रका समस्या आफ्नै घरभित्र बसेर छलफल गरी अगाडि बढ्न उनले आग्रह गरे। नेकपा एमाले कर्णाली प्रदेश समन्वय कमिटीले भदौ १६ देखि २० गतेसम्म १० वटै जिल्लामा भेला गर्दैछ। कार्यक्रम तय भइसकेको एमाले उपाध्यक्ष तथा कर्णाली प्रदेश समन्वय कमिटीका संयोजक ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया