कर्णालीमा एमालेका तीन सांसदले रोजे नेकपा (एस)

कर्णालीमा एमालेका तीन सांसदले रोजे नेकपा (एस)

सुर्खेत : कर्णाली प्रदेशसभामा नेकपा (एमाले) का तीन सांसदले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् ।  प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी वली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा(एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका हुन् ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले तीनै जना प्रदेशसभा सदस्य कार्यालयमा उपस्थित भएर नेकपा (एस) रोजेको जानकारी दिए । उनले हालसम्म स्थानीय तहका जनप्रतिनिधि भने नयाँ दलमा आबद्ध हुन सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा नआएको बताए । कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सदस्य थिए । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई ह्विप उल्लङ्घन गरेको आरोपमा पार्टीले कारबाही गरी पदमुक्त गरेको थियो ।

हाल कायम रहेका १६ मध्ये तीन जनाले नयाँ दल रोजेपछि अब प्रदेशसभामा एमाले सदस्यको संख्या १३ मा झरेको छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६, राप्रपाका एक सदस्य छन् भने नवगठित नेकपा (एकीकृत समाजवादी)का तीन सदस्य भएका छन् । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।

नेकपा (एस) रोज्नेमा मुगुबाट निर्वाचित शाही एमालेको केन्द्रीय सदस्य थिए । रुकुम पश्चिमकी वली प्रदेशसभामा सामाजिक विकास समितिको अध्यक्ष र निर्वाचन आयोगमा दर्ता हुँदा नेकपा (एस) पार्टीको केन्द्रीय सदस्य छिन् । त्यस्तै, रोकाया जुम्लाबाट प्रत्यक्ष निर्वाचित सदस्य हुन् । वलीले वैशाख ३ गते नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि सच्याएका थिए ।

प्रतिक्रिया