‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरौँ’

‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन  गरौँ’

दैलेख : कोरोना संक्रमण कारण लामो समयदेखि विद्यालयहरु बन्द छन् । दैलेखका सबै क्षेत्रमा सुचना प्रविधिको पहुँच पुग्न सकेको छैन् । विद्यालय शिक्षामा कक्षा कोठामै मात्र सिक्ने–सिकाउने परम्परा छ । कोरोना कारण विद्यालय बन्द रहनु र अनलाइन कक्षा सञ्चालनमा कठिनाई भएका कारण विद्यार्थीहरुले शिक्षा आर्जन गर्न सकिरहेका छैनन् ।

यस्तो अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न नै उत्तम हुने यहाँका सरोकारवालाले एकमत जनाएका छन् । आज ८ सेप्टेम्वर अर्थात अन्तरराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखाले आयोजना गरेको ‘भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सावधानी’ सन्दर्भमा सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो विचार राखेका हुन् ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले हाल कोरोना संक्रमणको दर कम भएको र समाजमा स्वास्थ्य सरसफाई प्रवद्र्धन पनि बढेको कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सम्भावना रहेको बताए ।

शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त इकाई प्रमुख रतन बिष्टले केन्द्रले पनि स्थानीय सरकारले आफ्नो स्थानको अवस्था विश्लेषण गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सकिने परिपत्र गरेको कारण खुलाउन चाहनेहरुलाई सहज भएको जानकारी गराए ।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूहरुले भदौ १ गतेदेखि विद्यालय खुलाइसकेको, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना कडाई गरिएको र आवश्यक पर्दा सेवा दिने गरी स्वास्थ्यकर्मीहरुलाई पूर्ण सतर्कता अवस्थामा राखेर रामरी कक्षा चलिरहेका अनुभव सुनाए ।

नारायण नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हर्कबहादुर नेपालीले नारायण नगरपालिकाले भदौ २७ गतेदेखि विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । उनले अनलाइन शिक्षा, रेडियो शिक्षण कार्यक्रम प्रभावकारी नभएकोले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न लागिएको प्रष्ट्याए ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखाका संयोजक दुर्गा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्वयू स्थायी कमिटी सदस्य हेमन्त दशौदी, नेविसंघ जिल्ला सभापति मौसम थापा, नेराशि संगठनका अध्यक्ष जीवराज तिमिल्सेना, नेपाल शिक्षक संघका सभापति कृष्णबहादुर थापा, बसन्त मावि किमुगाउँका शिक्षक रमेश खड्काले पनि विद्यालय बन्द भएको अवस्थाले सिकाई उपलब्धी ह्रास भएको टिप्पणी गरे ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार संघका जिल्ला अध्यक्ष यज्ञराज थापा, दैलेख उद्योग बाणिज्य संघका सदस्य प्रकाश पौडेल, विद्यार्थी प्रतिनिधिहरु विपना रेग्मी र लक्ष्मी सदाशंकरले पनि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन सावधानीको सवालमा आआफ्नो धारणा राखे ।

कोरोना संक्रमणको त्रासले २०७६ चैत ११ गते देशभर लकडाउन गर्न एक साता अघि नै बन्द भएका दैलेखका विद्यालयहरु २०७७ मंसिरदेखि छिटपुट रुपमा चल्दै गरेका विद्यालयहरुले पछिल्लो पटक केन्द्र सरकारको निर्देशनमा २०७८ वैशाख १४ गतेदेखि बन्द भएका धेरै ठाउका विद्यालयहरु अहिले पनि खुलेका छैनन् ।

सबै ठाउँमा कोरोना संक्रमणको प्रभाव एक प्रकारको नभएको कारण स्थानीय सरकारले आफ्नो ठाउँको बस्तुस्थितिको बिश्लेषण गरी जोखिम कम भएको हकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न सकिने परिपत्र गरेकोपछि स्थानीय तहहरुले अनुकुलतामा विद्यालय खुलाउन थालेका छन् ।

दैलेखका ११ स्थानीय तह मध्ये गुराँस गाउँपालिका र भगवतीमाई गाउँपालिकाले मात्र भदा सुरुदेखि विद्यार्थीहरुको प्रत्यक्ष उपस्थितिमा पठनपाठन सुरु गरेका र अरु स्थानीय तहहरुले चाहिं भदौ २७ गतेदेखि सुरु गर्ने तय गरेको आफूहरुलाई जानकारी रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापाले जानकारी दिए ।

उनले विद्यालय खुलिसकेपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको अनुगमन गर्ने, आवश्यकता अनुसार पृष्ठपोषण र सहयोग गर्ने, कतै कुनै समस्या आए तत्काल उद्धार तथा सहायताको तत्परता लगायतका रणनीति तयारी गरी विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने योजना तयारी गरिएको इकाईका प्रमुख थापाले बताए ।

प्रतिक्रिया