संखुवासभा घटना : ‘व्यक्तिगत रिसइवी’का कारण हत्या

          |   प्रकाशित मितिः आइतवार, भदौ २७, २०७८     ::: 151 पटक पढिएको   |  

संखुवासभा : मादी नगरपालिका-१ उम्लिङखोला गाउँका तेजबहादुर कार्कीसहित ६ जनाको हत्या आरोपमा प्रहरीले उनका भतिजा लोकबहादुरलाई पक्राउ गरेको छ। २५ वर्षीय लोकबहादुरले चिर्पट प्रहार गरेर ६ जनाको हत्या गरेको प्रहरीमा अनुसन्धानमा देखिएको छ । प्रदेश १ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले आइतबार पत्रकार सम्मेलनमा अभियुक्त सार्वजनिक गर्दै ‘व्यक्तिगत रिसइवी’का कारण हत्या भएको बताएका छन् ।

मृतक तेजबहादुर र लोकबहादुर नाताले काका भतिज हुन् । अभियुक्त लोकबहादुरका बुवा शारिरिक रुपमा अशक्त छन् । तेजबहादुरलाई लोकबहादुरका हजुरबुवाले आफू मरेर गएपछि परिवारको हेरचाह र अभिभावकत्व गरिदिन आग्रह गरेका थिए । त्यही आग्रह बमोजिम तेजबहादुर लोकबहादुरको घरमा नियमित रुपमा जान्थे । लोकबहादुरको परिवार आर्थिक हिसाबमा तेजबहादुरको तुलानामा कमजोर छ । तेजबहादुर लोकबहादुर र उनका भाइलाई सम्झाउने र भविष्य राम्रो बनाउन सल्लाह दिन्थे । कहिले काँही गाली पनि गर्थे । त्यही विषयलाई लोकबहादुरले व्यक्तिगत कुण्ठा र रिसिइबी बनाएपछि घटना भएको प्रहरीले जनाएको छ ।

तेजबहादुरका दुई छोराहरु विदेशमा छन् भने लोकबहादुर वैदेशिक रोजगारीका लागि विदेश गएको वर्षदिन नपुग्दै फर्किएका थिए । उनी मानसिक रुपमा रोगी समेत रहेको प्रहरीले जनाएको छ ।

हत्या हुनु अघिल्लो दिन तेजबहादुर लोकबहादुरको घर गएका थिए । खेतालाका लागि बोलाउन गएका तेजबहादुरले त्यसदिन पनि लोकबहादुरलाई ‘सम्झाउने बुझाउने’ काम गरेको प्रहरीले जनाएको छ । लोकबहादुरले उक्त विषयलाई व्यक्तिगत कुण्ठा बनाए । डीआईजी बीसीले पत्रकार सम्मेलनमा भने,’खेताला बोलाउन जाँदा तेजबहादुरले सधाझै दुवैलाई बोलाएर गाली गर्दै सम्झाएको देखिन्छ । त्यो विषयलाई लोकबहादुरले कुण्ठाको रुपमा लिए । ‘सोमबार बिहानै घरबाट निस्किएका तेजबहादुरलाई बाटोमा ढुकेर बसेका लोकबहादुरले अचानक आक्रमण गरे । उनले घरबाटै लिएर गएको चिर्पटले तेजबहादुरको टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

तेजबहादुरलाई आक्रमण गरेको देखिपछि श्रीमती मनमाया र बुहारी रञ्जना घरबाट दौडिँदै त्यहाँ पुग्छन् । हल्ला हुने डरले उनीहरूलाई पनि तेजबहादुरले टाउकोमा चिर्पटले प्रहार गरेर हत्या गरेको डीआईजी बिसीले बताए । त्यहीबेला तेजबहादुरका नाती विपी र नातिनी गोमाले घटना देखपछि उनीहरुको पनि लोकबहादुरले हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । ‘तेजबहादुरका नाती/नातिनीले घटना देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरूलाई पनि खेदेर चिर्पट प्रहार गरेर बारीमा हत्या गरेको देखिन्छ,’ डीआईजी बिसीले भने ।

५ जनाको हत्या गरेपछि लोकबहादुर तेजबहादुरको घरमा पुग्छन् । कुडो नजिकै बसिरहेकी तेजबहादुरकी आमा पार्वतीलाई भित्तामा ठेलेर चिर्पटले प्रहार गरी उनको पनि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । तेजबहादुरका बुवा कान नसुन्ने र आँखा त्यति नदेख्ने भएकाले उनलाई केही नगरी लोकबहादुर आफ्नो घर फर्किएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

बिहान साढे ८ बजेतिर लोकबहादुरले आफ्नो भाइलाई ‘पर बढिबाको लाश छ’ भनेर सुनाएका थिए । ‘हत्या भएको स्थान लोकबहादुरको घरबाट देखिदैँन । घरमाथिबाट कसरी मृतकको शव देखियो भन्नेबारे हामीले अनुसन्धान गर्दै जाँदा अभियुक्त पत्ता लाग्यो,’ डीआईजी बीसीले भने,’ आफन्तको हत्या हुँदा लोकबहादुरमा कुनै समवेदना नदेखिपछि शंका गर्ने ठाउँ भयो । लोकबहादुरको कपडामा लागेको रगतको दाग भेटिएपछि पक्राउ गरेर अनुसन्धान थालेपछि हत्या गरेको स्वीकार्दै बयान दिएका छन् ।’

प्रहरीले मृतकहरुले प्रयोग गरेका मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाएको छ । अभियुक्तले दिएको साबिति बयानको भिडियो, घटनास्थलमा पुगेर गरिएको कुराकानीको क्लिप, कपडामा लागेका रगतको दागलगायतका सामानहरुलाई प्रहरीले प्रमाणको रुपमा पेस गरेको छ । पोष्टमार्टम रिपोर्टमा टाउकोमा ब्लन्ट फोर्सहरु भएको देखिएको डीआईजी बीसीले बताए ।

घटनाको अनुसन्धानमा डीआईजी बीसी, संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका डीएसपी रुगम कुँवर र संखुवासभाका डीएसपी लालध्वज सुवेदीसहितको टोली संलग्न थियो ।



Leave a comment

Your email address will not be published.


*