सिकाई आदानप्रदानका लागि विद्यालयमा स्थलगत भ्रमण

सिकाई आदानप्रदानका लागि विद्यालयमा स्थलगत भ्रमण

दैलेख : जिल्लाको गुराँस गाउँपालिका जनप्रतिनीधि, विभिन्न १४ वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापकहरुले सिकाई आदान प्रदानका लागि विभिन्न जिल्लाका ७ वटा विद्यालयहरु अवलोकन गरेका छन् । गुराँस गाउँपालिकाका उपाध्यक्ष दिपा बिसी गाउँपालिकाको शिक्षा शाखाका स्रोत शिक्षक थिरेन्द्रकुमार बिसी, वडा नम्बर २ का वडाध्यक्ष रतनबहादुर रावल, वडा नम्बर ४ का वडाध्यक्ष खड्गबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरू र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापा सहित कार्य समिति सदस्यहरुले विद्यालयको अवलोकन भ्रमण गरेका हुन् ।

सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तरगर्तको विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना मार्फत अवलोकन भ्रमण सम्पन्न भएको हो । शिक्षकको पेशागत विकास, सामुदायिक संलग्नता र स्रोत व्यवस्थापनको सवालमा सिकाई आदान प्रदान होस् भन्ने उदेश्यले विद्यालय अवलोकन भ्रमण गरिएको हो ।

टोलीले कैलालीको टिकापुरस्थित विरेन्द्र विद्या मन्दिर र कर्णाली नमूना मावी, डडेल्धुराको महेन्द्र मावी, बैतडीस्थित ज्ञानेश्वर नमुना मावी र सरस्वती आधारभुत विद्यालय, कञ्चनपुुरको महेन्द्रनगरस्थित भृकुटी मावी र सुर्खेतको बड्डीचौरस्थित जनज्योती मावीको स्थलगत अवलोकन गरेको हो ।

विद्यालय स्थलगत भ्रमण विद्यालय नेतृत्व तथा ब्यबस्थापनको क्षेत्रमा केन्द्रित थियो । विद्यालय शुसासन तथा ब्यबस्था, पेशागत बिकास र सामुदायिक संलग्नताको क्षेत्रमा केन्द्रित रहेको विद्यालय स्थलगत भ्रमणमा स्थलगत अबलोकन, खुला समुह छलफल, प्रश्नाबली र अन्र्तबार्ता बिधिको प्रयोग विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजनाको बारेमा सिकाई आदान प्रदान गरिएको गुराँस गाउँपालिकाको शिक्षा शाखाका स्रोत शिक्षक थिरेन्द्रकुमार बिसीले बताए ।

विद्यालय नेतृत्व तथा ब्यबस्थापनको क्षेत्रमा केन्द्रित भई गरिएको विद्यालय स्थलगत भ्रमणले केहि राम्रा सिकाईहरु भएको गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा बिसीले बताइन् । उनले विद्यालयमा गरिएको स्थलगत भ्रमणबाट सिकाई भएका राम्रा अभ्यासहरुलाई गुराँस गाउँपालिकाका सामुदायिक विद्यालयमा लागु गर्न पहल गर्ने बताइन् ।

स्थलगत भ्रमण गरिएको विद्यालयमा विद्यालयको पृष्ठभुमि, संक्षिप्त परिचय र शैक्षिक तथ्याङ्क, वित्तिय स्रोत, मानब स्रोत र अन्य स्रोतहरुको ब्यबस्थापन, नेतृत्व तथा जिम्मेबारी बाँडफाँड, बिद्यालय सुधार योजनामा आधारित प्रस्ताबना पेश गरी बहुस्रोतहरू लगाएतका सवालमा छलफल गरिएको थियो ।

यस्तै शिक्षकको पेशागत क्षमता बृद्धि गर्न विद्यालय नेतृत्व तथा ब्यबस्थापन तहबाट भइरहेका अभ्यासहरु, बालबालिकाको सहभागिता र संरक्षण नीति, सिकाई उपलब्धि कम भएका बालवालिकाको उपलब्धि बृद्धि गर्न विद्यालयले संचालन गरेका क्रियाकलाप, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकद्वारा विद्यालयको अनुगमन संयन्त्र र प्रभाबकारिता, अभिभावक संग सूचना आदान प्रदान तथा सम्पर्कका सवालमा पनि छलफल भएको शिक्षा शाखाका स्रोत शिक्षक बिसीले बताए । बिसीका अनुसार शिक्षामा प्रविधिको प्रयोग र कोरोना महामारीमा बैकल्पिक शिक्षण विधी, शिक्षक अभिभाबक सम्मान कार्यक्रम, छनौट प्रक्रिया तथा मापदण्डका बारेमा छलफल भएको थियो ।

विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना अनुसन्धनात्मक परियोजना हो । नेपालमा विद्यालय नेतृत्व र व्यवस्थापन सुधारका लागि परियोजनाले बिभिन्न क्रियाकलापहरु निर्माण र परिक्षण गर्ने कार्य सन् २०१९ देखि गर्दे आइरहेको छ । परियोजनाले बालबालिकाको गुणस्तरीय सिकाई र विद्यालयको नेतृत्व र ब्यबस्थापन सम्बन्धमा अनुुुसन्धान कार्य गरिरहेको छ । परियोजना मार्फत दैलेख जिल्लाका गुराँस गाउँपालिकाको २, ४ र ५ वडामा पर्ने १४ वटा विद्यालयहरुमा उक्त क्रियाकलापहरु प्रयोग भइरहेको विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजनाका संयोजक गोविन्द चपाईले बताए ।

 

 

प्रतिक्रिया