पुःन बन्द नहुनेगरी विद्यालय सञ्चालन गर्न आग्रह

पुःन बन्द नहुनेगरी विद्यालय सञ्चालन गर्न आग्रह

दैलेख : दुल्लू नगरपालिकाका उपप्रमुख बिष्णु थापाले आउँदा दिनहरुमा विद्यालय बन्द गर्न नपर्ने गरी सुचारु गर्न विद्यालय प्रशासनलाई आग्रह गरेकी छिन् । शिक्षाका लागि राष्ट्रिय अभियान दैलेखले दुल्लूमा आयोजना गरेको ‘स्थानीय तहका शैक्षिक सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा उलले आग्रह राखिन् । उपप्रमुख थापाले सीमित साधन श्रोतको अभावमा विद्यालयको भौतिक संरचना निर्माण सन्तोषप्रद सहयोग गर्न नसकेको स्वीकार गरिन् । उनले भौतिक उपस्थितिमा सिक्ने सिकाउने अभ्यास भइरहेको कारण विद्यालय खोलिएकोले सुरक्षित रुपमा विद्यालय सञ्चालन कार्य निरन्तता गर्न विद्यालय प्रशासनको भूमिका महत्वपूर्ण हुने बताइन् ।

दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले नगरक्षेत्रका विद्यालयहरुको शैक्षिक क्रियाकलाप प्रभावकारी बनाउन र विद्यालयका भौतिक सुविधा व्यवस्था बनाउन नगरपालिकाले सक्दो धेरै व्यवस्थित गरेको बताए ।
अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा २६ करोड ४० लाख ९५ हजार रुपैंयाँ नगरपालिकाले खर्च गरेको जानकारी दिए । जो रकम स्वीकृत बजेटको करिव ९० प्रतिशत रहेको उनले बताए । कम सुविधामा शिक्षकहरुले गरेको कार्य प्रशसनीय रहेको बताए ।

नगरपालिकाका शिक्षा अधिकारी ज्ञानमणी नेपालले भौतिक रुपमा विद्यालय खुलेर मात्र सिकाई पद्धति प्रभावकारी हुने भएकोले आइतवारदेखि दुल्लू नगरक्षेत्रका विद्यालयहरु खुलाइएको जानकारी दिए । विद्यालय खुले पनि कोरोनाको जोखिम कायम रहेकोले स्वास्थ्य सावधानी अपनाउन शिक्षा अधिकारी नेपालले आग्रह गरे ।

कार्यक्रममा दुल्लू नगरपालिका क्षेत्रका १३ वटा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुका पेशागत संगठन, विद्यार्थी प्रतिनिधिहरुकले शैक्षिक विकासको सवालमा दुल्लू नगरपालिकाको सहयोगको अपेक्षा र आफ्नो सुझावहरु राखे ।

सुझावकर्ताहरुले विद्यालयमा पुरानो भौतिक संरचनाको कारण बसाई व्यवस्थापन साँघुरो, स्वास्थ्य सावधानीका लागि उपयोग, विद्यालयमा निरन्तर बालबालिकाको सहभागिता निम्ति मनोसामाजिक सहयोग पु¥याउन कठिनाई भएको सहभागीहरुले समस्या औल्याएका थिए ।

सरस्वती मावि विव्यस अध्यक्ष मधुरविक्रम खनाल, पञ्चकोशी मावि विव्यस अध्यक्ष नविन योगी, भानु मावि विव्यस अध्यक्ष महारुप खत्री, बिजया मावि दुल्लूका प्रधानाध्यापक केशव भण्डारी, सिजना आधारभूत विद्यालय शान्तिबजारकी प्रधानाध्यापक शान्ति खनाल लगायतले सुझाव राखेका थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा शाखाका सदस्य इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र अभियानका सदस्य पत्रकार रजनी योगीले स्थानीय तहका शैक्षिक सवाल विषयमा सहजीकरण गरेका थिए ।

स्थानीय तहका शैक्षिक सवाल अध्ययनका लागि दुल्लू पुगेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखाको टोलीले दुल्लू नगरपालिकाका शिक्षा अधिकारी समेतको सहभागितामा इन्द्रज्वाला आधारभूत विद्यालय राजाकाँध र पञ्चकोशी मावि गमौडीमा विद्यालय खुलेको पहिलो दिन भइरहेको शैक्षिक गतिविधिको आकस्मिक अनुगमन गरेको थियो ।

प्रतिक्रिया