अलैंची खेतीमा किसानको आकर्षण

          |   प्रकाशित मितिः सोमवार, भदौ २८, २०७८     ::: 75 पटक पढिएको   |  

दैलेख : दैलेखका किसानहरु अलैंची खेतीतर्फ आकर्षित हुन थालेका छन्। विशेषगरी जिल्लाका ११ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहहरु नौमूले, भगवतीमाई, डुङ्गेश्वर, गुराँस, महाबु र भैरबीका किसानहरु खेती तर्फ आकर्षित भएका हुन्। यी स्थानीय तहमा अलैंची खेतीका लागि राम्रो सम्भावना रहेको समेत पाईएको छ।

यस क्षेत्रका किसानले २३ लाखको अलैंची बिक्री गरेका छन्। पछिल्लो तीन वर्षयता व्यवसायिक रुपमा अलैंची खेती सुरु गरेका किसानहरुले अघिल्लो वर्षमात्रै २३ लाख ११ हजार बराबरको अलैंची बिक्री गरेका हुन्। किसानले चार हजार एक सय ७२ केजी अलैंची उत्पादन गरेको तथ्यांक छ।

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना सहयोग ईकाइ डडेल्धुराले दैलेखमा आयोजना गरेको अलैंची उत्पादन क्षेत्र पहिचान तथा मुल्य श्रृंखला ढाँचा विकास सम्बन्धि दुई दिने कार्यशालामा सहभागि किसानहरुबाट संकलन गरिएको तथ्यांकमा हाल जिल्लाका ६ वटा स्थानीय तहमा २ हजार ४ सय ७६ रोपनी क्षेत्रफलमा अलैंची खेती भईरहेको छ। अलैंची खेतीको सम्भावना उच्च रहेको ६ स्थानीय तहका किसानहरु एकै ठाउँमा जम्मा भएर संकलन गरेको तथ्यांक अनुसार ५५ स्थानका एक हजार चार सय ७२ घरधुरीले व्यवसायिक रुपमा अलैंची खेती गरिरहेको किसानहरुले जनाएका छन्। किसानहरुले उत्पादन गरेको अलैंची औषतमा प्रतिकेजी ५ सय ५४ रुपैयाँ बिक्री भईरहेको छ ।

कार्यशालाले ६ वटा स्थानीय तहहरुमा अलैंची खेती विस्तार गर्न सकिने सम्भावित स्थानहरु समेत पहिचान गरेको छ। ६१ स्थानमा ३ हजार ७ सय ८ रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार गर्न सकिने र एक हजार ५ सय ६० घरधुरीलाई व्यवसायिक अलैंंची खेतीमा संलग्न गराउन सकिने कार्यशालाले पहिचान गरेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना सहयोग इकाई दैलेखका जलस्रोत सल्लाहकार हरि सापकोटाले बताए।  हाल जिल्लामा ७ वटा अलैंची नर्सरी, ३ वटा अलैंची सुकाउने भट्टी, नौमूले गाउँपालिकामा एक वटा अलैंची संकलन केन्द्र छ।

‘कार्यशालाले अलैंची खेतीका लागि नक्सांकन र क्षेत्र पहिचान गरेको छ,’ जलस्रोत सल्लाहकार सापकोटाले भने ‘दैलेख जिल्लालाई अलैंची उत्पादनका हिसावले प्रख्यात जिल्लाको रुपमा चिनाउन सकिन्छ।’  जलस्रोत सल्लाहकार सापकोटाले आधुनिक प्रविधिको प्रयोग गरेर अलैंचीको व्यवसायिक खेती गर्नुपर्ने औल्याउँदै बजारीकरणका लागि अलैंची उत्पादक किसानहरु संगठित हुनुपर्ने बताए। परियोजनाका जीविकोपार्जन विज्ञ कृष्ण मल्लले दैलेख जिल्ला अलैंची उत्पादनका हिसावले उच्च सम्भावना रहेको बताए।

उत्पादन विस्तारसँगै अलैंची खेतीलाई व्यवसायिक बनाउन सके केहि वर्षमै दैलेख जिल्लाबाट १० करोड बढिको अलैंची निकासी गर्न सकिने मल्लको भनाई छ।

कार्यशालामा अलैंची मुल्य श्रृंखलाका गतिविधि, नौमूले गाउँपालिकामा अलैंची मुल्य श्रृंखलाका लागि गरिएका प्रयासहरु, अलैंची खेतीका लागि सरकारी पहलहरु, उत्पादन र बजारीकरण लगाएतका विषयमा छलफल भएको थियो। दैलेख जिल्लाको विभिन्न स्थानीय तहमा अलैंची खेतीको अवस्था र विस्तृत योजना मापन, उत्पादनलाई एकिकृत बजारीकरण, अलैंची खेती विस्तार, प्रर्वद्धन तथा बजारीकरणको ढाँचा तयार गर्ने उदेश्यले कार्यशाला आयोजना गरिएको थियो।

कुन स्थानीय तहमा कति अलैंची उत्पादन ?

किसानहरुकै संलग्नतामा संकलन गरिएको तथ्यांक अनुसार गुराँस गाउँपालिकामा ८ स्थानका १ सय ३२ घरधुरीले ३ सय ९६ रोपनी क्षेत्रफलमा अलैंची खेती गरिरहेका छन्। खेतीबाट उत्पादन भएको ९ सय ६७ केजी अलैंची प्रतिकेजी ७ सय रुपैयाँका दरले बिक्री गरेको पाईएको छ।

गुराँसका ८ स्थानमा ८ सय ६१ रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार गर्न सकिने र त्यसबाट २ सय ८७ घरधुरीलाई खेतीमा जोड्न सकिने गरी अलैंची उत्पादन क्षेत्रको पहिचान गरिएको छ।

यस्तै डुङ्गेश्वर गाउँपालिकाको ३ वटा स्थानका एक सय घरपरिवारले ५ सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरिरहेका छन्। उनीहरुले उत्पादन गरेको अलैंची प्रतिकेजी ८ सय रुपैयाँका दरले बिक्री गरेका छन्।

डुङ्गेश्वरका २ स्थानमा एक सय ५० रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार गर्न सकिने र ७० घरपरिवारलाई अलैंची खेतीमा जोड्न सकिने पाईएको छ।

भगवतीमाई गाउँपालिकामा १७ स्थानका एक सय ५ घरधुरीले १ सय ८० रोपनी क्षेत्रफलमा अलैंची खेती गरिरहेका छन् भने  २० स्थानका एक सय ६१ रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार र १ सय २५ घरधुरीलाई अलैंची खेतीमा जोड्न सकिने कार्यशालाले औल्याएको छ।

त्यसैगरी नौमूले गाउँपालिकामा १६ स्थानका ३ सय ६५ घरधुरीले ५ सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरिरहेका छन्। २ वटा अलैंची सुकाउने आधुनिक भट्टी र संकलन केन्द्र समेत रहेको नौमूलेमा २२ स्थानको २ सय ८१ रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार गर्न सकिने गरी नक्सांकन गरिएको छ। त्यहाँ ३ सय ७३ घरधुरीलाई अलैंची खेतीमा जोड्न सकिनेछ।

भैरवी गाउँपालिकाको ७ स्थानमा २ सय २० घरधुरीले २ सय रोपनी क्षेत्रफलमा अलैंची खेती छन्। गाउँपालिकाभर ५ स्थानमा एक हजार ६ सय ६० रोपनी क्षेत्रफलमा अलैंती खेती विस्तार गर्न सकिने र २ सय घरधुरीलाई व्यवसायिक अलैंची खेतीमा जोड्न सकिने सम्भावना रहेको छ।

त्यसैगरी महाबु गाउँपालिकामा ४ स्थानका ५ सय ५० घरधुरीले ७ सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरिरहेका छन्। महाबुमा ४ स्थानमा २ सय ६५ रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार गर्न सकिने र ५ सय ५ घरधुरीलाई अलैंची खेतीमा जोड्न सकिने गरी अलैंची उत्पादन क्षेत्रको पहिचान गरिएको छ। महाबुमा एक वटा अलैंची खेतीका लागि नर्सरी समेत रहेको छ।



Leave a comment

Your email address will not be published.


*