दैलेख जिल्ला अदालतद्धारा डिएसपी श्रेष्ठलाई कदरपत्रसहित सम्मान

दैलेख जिल्ला अदालतद्धारा डिएसपी श्रेष्ठलाई कदरपत्रसहित सम्मान

दैलेख : फैसला कार्यान्वयनको काममा उल्लेख्य काम गरेको भन्दै दैलेख जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठलाई कदरपत्र दिएको छ । जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकको अवसरमा जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले कदरपत्र प्रदान गर्नुभएको हो ।

अदालतले कैद तथा जरिवाना फैसला गरेकाहरुको अभियुक्तहरुलाई पक्राउ गरी बाँकी कैद र जरिवाना असुलीमा अघिल्लो आर्थिक वर्षमा मात्र १ सय ६५ जनालाई पक्राउ गरेकोमा कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि जिल्ला प्रहरी कार्यालय दैलेखलाई प्रदेशकै उत्कृष्ठ जिल्लाको पुरस्कार दिएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चालु आर्थिक बर्षको दुई महिनामा १३ जना फरार अभियुक्त पक्राउ परिसकेका छन् ।

बैठकका अवसरमा जिल्ला न्यायाधीश लामिछानेले अपराध रोकथाम र न्याय निरुपणमा सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय सरकार, प्रहरी–प्रशासन र नागरिक समाजको तत्परताले मात्र समाजमा शान्ति, सुव्यवस्था कायम हुन सक्ने औल्याउनुभयो ।

जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्यहरु मालपोत अधिकृत बालकृष्ण राना, जिल्ला समन्वय अधिकारी बालाराम नेपाली, दैलेख कारागारका जेलर जीतबहादुर खत्रीले र दैलेख अदालतका बाल मनोविज्ञ अमर सुनारले पनि न्याय प्रशासनका कामको प्रभावकारिता विषयमा आफ्ना सुझाव राख्नुभएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरि घिमिरे, दैलेख जिल्ला अदालतका श्रेस्तेदार अधिकृत इन्द्रबहादुर कार्की, नेपाल बार एशोसियसनका अध्यक्ष माधवराज अधिकारी, नागरिक समाजका अध्यक्ष अधिवक्ता खड्गबहादुर सिजापतिको बैठकमा सहभागिता थियो ।

 

प्रतिक्रिया