मुख्यमन्त्री, मन्त्री र गाउँपालिका अध्यक्षको गलामा ४० किलोको माला

मुख्यमन्त्री, मन्त्री र गाउँपालिका अध्यक्षको गलामा ४० किलोको माला

डोल्पा : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शनिबार डोल्पाको एक आवासीय विद्यालयको उद्घाटन गरेका छन्। उनीहरूले जगदुल्ला गाउँपालिका-५ मा बनेको दलित आवासीय विद्यालयको उद्घाटन गरेका हुन्। सुर्खेतबाट हेलिकप्टरमा डोल्पा पुगेर उनीहरूले विद्यालयको उद्घाटन गरेका हुन्।

विद्यालय उद्घाटन गर्न जाँदा चढेको हेलिकप्टर खर्चको भार गाउँपालिकालाई बोकाएका मुख्यमन्त्री शाही र उद्योग मन्त्री बुढालाई स्थानीयले पनि ४० किलोको मालाको भारी बोकाएका छन्। उद्घाटन सत्रमा मुख्यमन्त्री शाही, उद्योग मन्त्री बुढा र गाउँपालिका अध्यक्ष रोकायालाई स्थानीयले बनाएको ४०/४० किलोको माला लगाइदिएका थिए। उक्त माला लगाएको उनीहरूको तस्बिर अहिले सामाजिक सञ्चालनमा चर्चामा छ।

गाउँपालिका अध्यक्ष रोकायले स्थानीयले आफूहरूलाई लगाएको ठूलो मालालाई स्थानीयको खुशीयालीका रूपमा ग्रहण गरिएको बताए। गैरीगाउँमा बनेको उक्त दलित आवासीय विद्यालयको भवनसँग उनीहरूले गाउँपालिकाको प्रशासकीय भवनको पनि उद्घाटन गरेका थिए।

१ करोड ७० लाख लागतमा बनेको दलित आवासीय विद्यालयमा कर्णाली प्रदेश सरकारले ६० लाख लगानी गरेको छ। बाँकी १ करोड १० लाख रुपैयाँ गाउँपालिका आफैंले लगानी गरेको हो। एक वर्षमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको छ।

जगदुल्ला-५ का वडा अध्यक्ष भीमबहादुर बोहराका अनुसार दलित आवासीय विद्यालय भवनमा २४ वटा कोठा छन्। तीमध्ये केही आवास र केही कक्षा कोठाको रूपमा प्रयोग गरिने छ। उक्त ठाउँमा पहिले ज्ञानोदय आधारभूत विद्यालय थियो। अहिले उक्त विद्यालयलाई नै आवासीय विद्यालयका रूपमा बनाइएको वडाध्यक्ष रोकायले बताए। उक्त विद्यालयमा अहिले १५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उनले बताए। सेताेपाटीबाट ।

प्रतिक्रिया