सामाजिक सुरक्षा भत्ता लिनै सास्ती

सामाजिक सुरक्षा भत्ता लिनै सास्ती

सरकारले सुविधा दिने बाहानामा झन् वृद्धवृद्धालाई दुःख मात्र दियो 

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–४ का ७७ बर्षीय धर्मबहादुर खड्का आईतवार सामाजिक सुरक्षा भत्ता लिन जानुपर्छ भन्दै शनिवार नै योजना बनाएका थिए । बैंकमा पुग्न ढिला भयो भने भत्ता पाउन पनि ढिला हुने डरले शनिवार राती २ बजे नै बैंकतर्फ हिँडेका खड्का आईतवार विहान ९ बजेमात्र बैंक आईपुगेका थिए । बैंक खुल्नुअघि नै आएर लाइनमा बसेका खड्काले दिउँस १ बजेसम्म पनि भत्ता पाउन सकेका थिएनन् । वडाबाटै भत्ता पाउँदै आएका उनका लागि बैंकसम्म पुगेर भत्ता लिन सकसपुर्ण भयो ।

‘बैंक पुग्दासम्म एक मुठ्ठी सास मात्रै बाँकी रहन्छ, पहिला–पहिला वडामै भत्ता पाउँथ्यौ, सजिलो हुन्थ्यो, अहिले यसरी दुःख पाउनु परेको छ,’ उनले भने ‘भत्ता दिएकै छौँ भन्ने ठानेपनि दुर्गम गाउँमा हामीजस्ता बृद्धबृद्धाले पाएको सास्तीबारे सरकार अनविज्ञ छ ।’ भत्ता लिनको लागि नयाँ नियम लागु गरेकोले धेरै सास्ती भोग्नुपरेको उनले बताए ।

उनिजस्तै गुराँस गाउँपालिका–५ गोगनपानीका ८८ बर्षीय डिलबहादुर रामजालीले सामाजिक सुरक्षा भत्ताको नाममा सरकारले जेष्ठ नागरिकलाई दुःख दिएको बताए । ‘सरकारले भत्ता दिने हो भने घर छेउमै दिने वातावरण मिलाउनुपर्छ,’ उनले भने, ‘भत्ता बुझ्न घण्टौसम्म हिडेर बैंक पुगेपनि लामो समयसम्म लाइनमा बस्न हामी बुढापाका सक्दैनौ ।’ उनले पहिलेभन्दा भत्ता लिनको लागि निकै झन्झटिलो प्रकृया भएको बताए ।

गुराँस गाउँपालिका–५ का ७८ बर्षीय रणबहादुर रानामगरले बैंक मार्फत भत्ता बुझ्ने प्रकृया निकै झन्झटिलै रहेको बताए । उनी भन्छन् ‘सरकारले सुविधा दिने बाहानामा झन् वृद्धवृद्धालाई दुःख मात्र दियो ।’

नेपालीहरुको महान पर्व बडा दसैँ सकिएको छ । दोस्रो महान पर्व शुभदिपावली अर्थात तिहार नजिकीदै छ । चार्डपर्वमा खर्चको जोहो गर्न अधिकाँश वृद्धवृद्धाहरु सामाजिक सुरक्षा भत्ताको आशमा गुराँस गाउँपालिकाको केन्द्र रानीमत्तामा रहेको प्रभु बैंकमा घण्टौ लाइनमा बसिरहेको देखिन्छन् । गाउँपालिकाका अधिकाँश वडाहरु विकट क्षेत्रमा पर्ने भएकाले भत्ता लिनको लागि जेष्ठ नागरिकहरुले सास्ती भोग्नुपरेको हो ।

जेष्ठ नागरिकसँगै अपाङ्गगता भएका व्यक्तिहरुले पनि भत्ता लिन सास्ती खेप्नु परेको छ । गुराँस गाउँपालिकाको गोगनपानी गाउँका ५९ बर्षीय प्रेमबहादुर रानामगर भन्छन् ‘घरबाट विहान ६ बजे हिड्नुपर्छ, म जस्ता दृष्टिविहिनलाई झनै सास्ती छ, पहिले पहिले वडा कार्यालयबाटै भत्ता पाउँथ्यौ, अहिले रानीमत्तास्थित प्रभु बैंकमा आउनुपर्दा धेरै नै दुःख छ ।’ भत्ता लिनकै लागि भोकभोकै दिन बिताउनुपर्ने भन्दै बिरामी, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती भोग्नुपरेको उनको भनाई छ । ‘वडा–वडामा भत्ता वितरण गर्ने हो भने कसैलाई पनि सास्ती हुँदैन्,’ उनले भने ।

प्रतिक्रिया