राउटेको जनसंख्या १ सय ४५ पुग्यो

राउटेको जनसंख्या १ सय ४५ पुग्यो

 

ज्वाला सन्देश संवाददाता
दैलेख : राउटे नागरिकहरुको जनजंख्या १ सय ४५ जना पुगेको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँमा बसोबास गर्दै राउटे समुदायको जनसंख्या १ सय ४५ जना पुगेको हो । राउटे युवा प्रकाश शाही र उनका पत्नि मिहिन शाहीको छोरी जन्मिएसँगै राउटेको संख्या १ सय ४५ पुगेको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले बताए । उनका अनुसार आइतवार साँझ प्रकाश र मिहिनको छोरी जन्मिएको हो । उनिहरुको बसोबास गरिरहेको बस्तीमा शिशू जन्मिएको खत्रीले बताए ।

राउटे नागरिकहरुको सामाजिकीकरणका लागि सोसेक नेपालमार्फत राउटे परियोजना सञ्चालित छ । एईआएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सोसेक मार्फत सञ्चालित परियोजना अन्तरगर्त तीन जना कर्मचारी समुदायमै खटिएका छन् । परियोजना मार्फत दुई जना जोडी शिक्षक र एक जना स्वाथ्यकर्मी (अहेव) बस्तीमा खटिएका छन् ।

राउटे जाती मानव सभ्यताको ईतिहास बोकेको समुदाय हो । त्यतिमात्र होइन दक्षिण एसियाको एकमात्र अन्तिम भ्रमणशिल समुदाय हो । लोपोन्मुख मध्येको पनि अति लोपोन्मुख जाती राउटे कर्णालीमा घुमन्ते जीवनयापन गरिरहेका छन् ।

नेपाल सरकारले राउटे नागरिकलाई २०६३ बाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आईरहेको छ । २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाबाट परिचय पत्र प्राप्त गरेका राउटे नागरिकलाई कर्णाली प्रदेश सरकारले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरु गरिसकेको छ ।

मुख्यतया कर्णालीको दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र दाङ जिल्लाको जंगलहरुमा फिरन्ते जीवनयापन गर्दै आएको राउटे जातीमा रास्कोटी, कल्याल र सोमबंशी गरी तीन थर रहेको छन् । आफूलाई जंगलको राजा दाबी गर्ने राउटेहरुमा पहिले एउटै मुखियाले समुदायको नेतृत्व गरेपनि पछिल्लो केही वर्षयता तीन जातिका तीन मुखिया छन् ।

काठबाट कोसी, मुधुस, आरी बनाएर बेच्ने अर्थात् अनाजसँग साटेर आफ्नो गुजारा चलाउने गर्दछन् । कन्दमूल, गुना–बादरको मासु उनीहरुलाई विशेष मनपर्छ । आफ्नै परम्परागत रितीरिजाव, जीवनशैली, धर्मसंस्कार अंगाल्दै आएको यो जाति नेपालको संकटासन्न जातिमा पर्दछ ।

प्रतिक्रिया