तीन जातका तीन कुवा !

          |   प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८     ::: 102 पटक पढिएको   |  

अछाम : अछामको साँफेबगर नगरपालिका–२ को बागविणी पुरानो बस्ती हो । जहाँ बाहुन, क्षत्री र दलित समुदायका मानिसको बसोबास छ । धार्मिक, सांस्कृतिक र अन्य सामाजिक विषयमा सबै जातजातिका मानिसको एकै प्रकारको परम्परागत मान्यता र प्रचलन भए पनि खानेपानी वितरणको सम्बन्धमा भने जात जहिल्यै तगारो बन्ने गरेको छ ।

गाउँको माथिल्लो भाग जसलाई समुदायका मान्छेले सामुदायिक वनका रूपमा संरक्षण गरेका छन्, त्यही जंगलको बीचमा खानेपानीका तीन वटा नाउला (कुवा) छन् । एउटा क्षत्री (कुवा), दोस्रो विक र तेस्रो आउजी (दमाईं) को छ । बागविणी टोलका एक सय घरमा तीन थरीको जातका मान्छेको बसोबास छ । त्यसैले कुवालाई पनि तीन भाग लगाइयो ।

तर हालका वर्षमा खानेपानीको मुहान सुक्दै गएको र बागविणीका करिब १ सय ५० घरलाई पानीको अभाव हुन थाल्यो । आफ्नो–आफ्नो थर (जात) का छुट्टाछुट्टै धारा बनाएका उनीहरूका धारामा पनि पानी अपुग हुने गरी आउन थाल्यो ।

यसको मारमा विकभन्दा पनि कथित तल्लो जात भनिने दमाईं परेका छन् । उनीहरूलाई न त गैरदलितले आफ्नो धारामा जान दिन्छन् न त उनीहरूकै समुदायमा वर्गीकृत भएका विकहरूले ।

‘हाम्रो भागमा लगाएको कुवाको पानी सुक्दै गयो । हामीलाई पनि नपुग्ने भयो । बाँच्नका लागि भए पनि पानी त खानै पर्‍यो । तर हामीलाई न त विकले धारा छुन दिन्छन् न त कुँवरले’ साँफेबगर नगरपालिका–२ बागविणीकी ५० वर्षीया डिक्रा आउजीले भनिन्, ‘धारामा जाँदा विकले त हामीले छोएपछि झगडा गर्न आउँछन् । झन् गैरदलितले त हामीलाई हेप्छन् । धारामा जाँदा गैरदलित र क्षत्रीहरू कतिखेर आउँछन् भनेर कुर्नुपर्छ । उनीहरू आएपछि हाम्रो भाँडोमा उनीहरूको भाँडोले पानी भरेर खन्याइदिन्छन् ।’

अन्य कुनै विषयमा जातका सन्दर्भ नआउने बागविणी गाउँमा खानेपानीको विषयमा भने कथित माथिल्लो जात र तल्लो जातका बारेमा जहिल्यै विवाद हुने गरेको साँफेबगर नगरपालिका–२ बागविणीकै १९ वर्षीया सम्झना आउजी बताउँछिन् ।

‘हामीलाई माथिल्लो जातले पानी छुन नदिएको कुरा बाहिर ल्याउँदा मिलेर बसेको समाज खलबलिएला, समाजमा तिक्तता आउला र सामाजिक सद्भाव नरहला भनेर अहिलेसम्म हाम्रो अघिल्लो पुस्ता चुपचाप बसे । अहिले हामी पढ्दै बुझ्दै गएका छौं । धाराको पानीसमेत छुन नपाइने हो भने कतिसम्म चुप बस्ने भन्ने लाग्छ,’ उनले भनिन्, ‘पढे–लेखेका, जान–बुझेकाहरूबाटै यो समस्या भएको छ ।’

आउजीभन्दा कथित माथिल्लो जात मानिएको विक परिवारको पनि गैरदलितले धारोमा पानी छुन नदिएको गुनासो छ । ‘यहाँ हामीलाई पनि छुट्टै धारा दिइएको छ । तर त्यो धारामा पानी नआउने समस्या छ,’ उक्त टोलकै ५० वर्षीय जोगी विकले भने, ‘गैरदलितले धारामा गएर पानी ल्याउन दिँदैनन् । पहिलेदेखि नै सहँदै आएका छौं । किन छुन नदिएको भन्दा विवाद होला भन्ने डर लाग्छ ।’

घरभन्दा ५० मिटर परको धारामा बग्ने पानीसमेत छुन नपाउँदा पीडा महसुस हुने गरेको उक्त टोलकै ५० वर्षीया सेतु विकको गुनासो छ ।

‘घर नजिकै धारो छ । तर गैरदलितले छुन दिँदैनन् । अहिलेसम्म यसै गरी चलेको छ । पानी नै नपाउँदा पीडा त हुन्छ नि ।’ पुर्खादेखि नै कुँवर (क्षत्री), विक र आउजीको तीन वटा कुवा रहेकाले अहिलेसम्म त्यही प्रक्रियाबाट खानेपानी वितरण भइरहेको उक्त टोलका खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयन्द्र कुँवर बताउँछन् ।

‘३ वर्षअघि भूसंरक्षण कार्यक्रमको सहयोगमा पानीको मुहान भएको जंगलमा १२ हजार बिरुवा वृक्षरोपण गरेका थियौं । तर आगलागीले जोगाउन सकिएन । पानीको मुहान सुक्दै जाँदा यस्तो समस्या आएको हो,’ उनले भने, ‘उनीहरू (विक र दमाईं) लाई बनाइदिएका धारा बिग्रिए, पानी जाँदैन भने उनीहरूले संरक्षण गर्नुपर्‍यो । त्यो हाम्रो समस्या होइन ।’ मेनुका ढुंगाना/कान्तिपुर



Leave a comment

Your email address will not be published.


*