कर्णालीमै पहिलाे पटक हाडजोर्नीको प्रत्यारोपण

कर्णालीमै पहिलाे पटक हाडजोर्नीको प्रत्यारोपण

सुर्खेत : कर्णाली प्रदेशमा पहिलो पटक हाडजोर्नीको सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा दुई जना महिलाको जोर्नीको प्रत्यारोपण गरिएको हो ।

अस्पतालका अनुसार कालीकोटका दिपा महतरा र दैलेखका रंगा विकको जोर्नी प्रत्यारोपण गरिएको हो । दुबैजनाको दाहिने खुट्टामा जोर्नीको प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । प्रत्यारोपण सेवाका लागि प्रदेश अस्पतालमा ६ जना ‘कन्सल्टेन्ट अर्थोपेडिक’ चिकित्सकहरुको टिम रहेको छ ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले कर्णालीमै पहिलो पटक सफलतापूर्वक जोर्नीको प्रत्यारोपण गरिएको जानकारी दिए । हाडजोर्नीको प्रत्यारोपणका लागि काठमाडौं, बुटवल जानुपर्ने समस्या हटेको र यो सेवा कर्णालीमै पाए पछि नागरिकलाई सहज भएको उनको भनाई छ ।

हाडजोर्नी प्रत्यारोपणका लागि विरामीको अवस्थाअनुसार कम्तिमा पाँचदेखि सात लाख रुपैयाँसम्म खर्च हुन्छ । तर स्वास्थ्य बिमा भएकाले दुवै जनाको दुईदेखि ५० हजारसम्म खर्च भएको उनले बताए । हाडजोर्नी प्रत्यारोपण एक पटक गरिसकेपछि कम्तीमा २५ देखि ४० वर्षसम्म काम गर्ने डा. खड्काले जानकारी दिए ।

पछिल्लो समय कर्णाली प्रदेश अस्पतालले जटिल खालका शल्यक्रिया गर्दै आएको छ । निर्देशक डा. खड्काले अस्पतालले बिस्तारै स्रोतसाधन तथा जनशक्ति व्यवस्थापन गरेर सेवालाई पनि बिस्तार गर्दै अघि बढेको बताए ।

प्रतिक्रिया