‘झुम्का बाला’ मा प्रभावित हुन्छन् किशोरीहरु

‘झुम्का बाला’ मा प्रभावित हुन्छन् किशोरीहरु


घरको आर्थिक अवस्था कमजोर भएपछि कमाउन भारत गएका युवाले पे्रमीकाको लागि ‘झुम्का बाला’ उपहार ल्याउने चलन छ । आफुले मन पराएकी प्रेमीकाको लागि । जादाँ कमाउन, मजदुर भएर जान्छन र फर्किदा लाहुरे भएर आँउछन । उ घर आउँदा हातमा स्मार्ट फोन र झोलामा झुम्का र बाला हुन्छ जस्ले गर्दा युवतीहरु नजिक हुन्छन् र कलिलो उमेरमै विवाह गर्ने निधो गर्छन् ।

बालविवाह न्यूनिकरणका लागि वडा बालअधिकार समितिले गरेका राम्रा अभ्यासहरुको अनुभव आदान प्रदान गर्न गुराँस गाउँपालिका–१ को अनुगमनमा गएका नागरिक समाजको भ्रमण बैठकमा किशोरीले किन कलिलै उमेरमा विहे गर्छन भन्ने जिज्ञासामा झुम्का र बालाले पनि किशोरीहरु प्रभावित हुने गरेको सहभागीले बताए ।

घरको आर्थिक अवस्था कमजोर भएपछि माध्यामिक शिक्षा पुरा नगर्दै कमाउन भारत गएका किशोरहरु फर्केर आएपछि विवाह गर्ने प्रचलन बढी छ । कैयौ युवाहरुलाई दैनिक गुजारा टार्न त कतिपयलाई घरको छानो बदल्न विदेशिनु पर्ने बाध्यता भएको गुराँस गाउँपालिका–१ का वडा अध्यक्ष नरबहादुर रामजालीले बताए ।

आर्थिक अवस्था बालविवाहको प्रमुख कारण

अधिकाँस बालविवाह गरिब परिवारमा हुने गरेको वडा सचिव खेमराज उपाध्यायले बताए । ‘हामी जनचेतना जगाउछौ तर पेट त भरिन्न, जनचेतनाले मात्रै पेट भरिने होइन्, गत वर्ष ११ वटा बालविवाहको जोडिलाई अलग अलग बस्ने गरी वडा बालअधिकार समितिले निर्णय गर्दा एक जना किशोरीलाई बुझिलिने अभिभावक कोही नभएको दुःख लाग्दो अवस्था छ, उनले भने । उनी दिदीको घरमा बस्थिन । दिदीले बुझिलिन अस्विकार गरिन । परिवारको आर्थिक र सामाजिक अवस्थामा सुधार भए बालविवाहमा कमि आउने उनको बुझाई छ ।

जोखिममा रहेका बालबालिकाको परिवारलाई दिगो जिविकोपार्जनका लागि वडाले सहयोग गर्दै आएको उनको भनाई थियो । आर्थिक अवस्था सुधारका लागि गरिएको सहयोगले बालविवाहबाट अलग गरिएको जोडि पुन उसकै पोइल जानु पर्ने बाध्यता हटेको छ । बालविवाह नगर्न र नगराउन पालिकाले वडाका सबै घरधुरीलाई गरेको पत्राचारले पनि बालविवाह न्यूनिकरण गर्न सहयोग पुगेको उपाध्यायले बताए ।

विवाह रोकिएका किशोरकिशोरीहरु आफै बालविवाह रोक्न लागि परेका छन् । प्रत्येक घर घरमा सूचना तिनै बालबालिकाहरुले विरण गर्ने गर्छन् । बालविवाह रोकिएर आफ्नो पढाईलाई निरन्तरता दिएका किशोर किशारीलाई परिचालन गर्दा बालविवाह न्यूनिकरण अभियान थप प्रभावकारी भएको उनको भनाई थियो ।
अभिभावकको सहमतिमा बालविवाह भए वडाले उपलब्ध गराउने सिफारिस, राहत लगाएतका सबै सुविधा रोक्का गर्ने वडा बालअधिकार समितिले निर्णय गरेपछि बालविवाह गर्नेको संख्यामा कमि आएको छ ।

बलियो समुदायीक संयन्त्रको आवश्यक

बलियो सामुदायीक संयन्त्रले गर्दा पनि बालविवाहमा कमि आएको छ । पहिला बालविवाहको मुद्धा वडा बालअधिकार समितिमा आउने गर्थे । अहिले प्रहरी र टोलफ्रि नम्बरमा पहिला जानकारी हुन्छ । कस्ले कहाँ बाट फोन गर्छ जानकारी नै हुदैन किन भने अहिले बालक्लवहरु सशक्त छन । बालक्लव सदस्यले फोन गर्छन् । सामुदायीक संस्थाहरु छन् । सामुदायीक संस्थामा आवद्ध सदस्यहरुले सम्बन्धित निकायलाई जानकारी गराउने गरेको उपाध्यायले बताए । यस्ता संस्थाहरुको सशक्तिकरणका लागि वडा बालअधिकार समितिले सहयोग गरेको उनको भनाई थियो ।

विद्यालयमा अध्ययनरत किशोरकिशोरीलाई स्वास्थ्यकर्मिहरुले महिनामा एक पटक अनिवार्य किशोर किशोरी शिक्षा दिने गरिएको वडा अध्यक्ष नरबहादुर रामजालीले बताए । उनले थपे, आफ्ना बालबालिकाको ढिलो विवाह गर्ने र विवाह गरेका छोरा छोरीलाई अलग गरी अध्ययनलाई निरन्तरता गर्न लगाउने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।

बालविवाह न्यूनिकरण गर्न वडा बालअधिकार समितिले सञ्चालन गरेका क्रियाकलापले गर्दा गत वर्ष २१ प्रतिशत रहेको बालविवाह तिन प्रतिशतले घटेर अहिले १८ प्रतिशतमा झरेको छ । बालविवाह न्यून हुने टोल समुदायको छनौट गरी नमुना समुदाय बनाउने वडा कार्यालयले योजना बनाएको उपाध्यायको भनाई थियो ।
अधिकारी, बालसंरक्षण र बालअधिकारको क्षेत्रमा लामो समय देखि कार्यरत छन् ।

प्रतिक्रिया