मुगुका आगलागी पीडितलाई तत्कालै राहत प्याकेज : मुख्यमन्त्री शाही

मुगुका आगलागी पीडितलाई तत्कालै राहत प्याकेज : मुख्यमन्त्री शाही

दैलेख : कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई तत्कालै राहत प्याकेज घोषणा गर्ने जनाएको छ । मंगलवार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीद्धारा जारी विज्ञप्तीमा आगलागी पीडितलाई स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्ने उल्लेख छ ।

मुगुको छाँयानाथ रारा नगरपालिका–१ गमगढी बजारमा सोमबार राती आगलागी हुँदा २१ वटा घर जलेका छन् । २१ वटा घर पूर्णरुपमा ध्वस्त भएको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ । स्थानीय प्रशासनले आगलागीबाट भएको क्षतीको विवरण संकलन गरिरहेको छ ।

मुख्यमन्त्री शाहीद्धारा जारी विज्ञप्तीमा गमगढी बजारमा भएको आगलागीको घटनाप्रति कर्णाली प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । आगलागीबाट अर्बौको धनसम्पती जलेर नष्ट भएको समेत विज्ञप्तीमा उल्लेख छ ।

सोमबार राति १२ बजेदेखि सल्केको आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको अथक प्रयासमा नियन्त्रणमा आएको थियो । मुख्यमन्त्री शाहीले आगलागी नियन्त्रणमा खटिएका सम्पूर्णलाई धन्यवाद समेत दिएका छन् ।

आगलागी पीडित स्थानीयलाई राहत तथा पुर्नस्थापनाका लागि प्रदेश सरकार गम्भिर रहेको मुख्यमन्त्री शाहीले जनाएका छन् । उनले विज्ञप्ती मार्फत आगलागी पीडितलाई अल्पकालिन राहतका लागि व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।

प्रतिक्रिया