आगलागी क्षेत्रको अवलोकन गर्न कर्णालीका मुख्यमन्त्री शाही मुगुमा

आगलागी क्षेत्रको अवलोकन गर्न कर्णालीका मुख्यमन्त्री शाही मुगुमा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगलागी क्षेत्रको अवलोकन गर्दै (बाँया), बिलौना गर्दै पीडित महिला (दायाँ)।

मुगु: सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भएको आगलागी पीडितहरु बिचल्लीमा परेका छन्। सोमबार साढे १२ बजे भएको आगलागीबाट २५ घरसहित बहालमा बसेको ५५ गरी ८० घर परिवार पीडित भएका छन्। उनीहरुले राहत राख्ने ठाउँसमेत नभएको भन्दै गुनासो पोखेका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्रबहादुर शाही बुधबार राहत बाँड्न गमगढीस्थित तल्लो बजार पुगेका थिए। पीडितहरुले रुँदै राहत राख्ने ठाउँसमेत नरहेको भन्दै घर निर्माण गरिदिनि बिलौना गरेका थिए। आगो निभाउने पानीसमेत नरहेको भन्दै पीडितहरु मुख्यमन्त्री शाहीप्रति आक्रोशित बनेका थिए। उनीहरुले छिट्टै विजुली र सञ्चार सेवा प्रदान गर्न आग्रह गरेका थिए।

मुख्यमन्त्री शाहीले पीडितहरुसँग छोटो अन्तर्क्रियासमेत गरेका थिए। त्यसक्रममा पीडितहरुले आफूहरुले ऋण सापटी लिएर घर बनाएको बताएका थिए। ‘शरीरमा लगाउने कपडासमेत हामीसँग नरहेकाले हाम्रो गास, बास र कपासको व्यवस्था गरिदिन प्रदेश सरकारका मुख्यमन्त्रीज्युलाई आग्रह गरेका थियौं,’ पीडित छिरिङ लामाले भने।

मुख्यमन्त्रीसँग पीडितहरुले रुँदै बिलौना गर्दा त्यहाँको माहौलमा सन्नाटा छाएको थियो। मुख्यमन्त्रीले लिएरको आएको खाद्यान्न प्रशासनमार्फत् बाँडिने बताइएको छ।

‘पतिले दु:ख गरी बनाएको घर एक छिनमै खरानी भयो। पतिको मृत्युपछि जसोतसो टुहुरा बच्चा यही घरमा पालेको थिएँ। टुहुरा बच्चा लिएर म कहाँ जाने?,’ पीडित झोवा लामाले दुखेसो पोखिन्। अन्नपूर्ण पोस्ट्बाट ।

प्रतिक्रिया