यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाको अधिकारका लागि नाटक प्रर्दशन

यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाको अधिकारका लागि नाटक प्रर्दशन

गुराँस गाउँपालिका–४ घोडाबास बजारमा नाटक ‘लैंगिक पहिचान’ प्रर्दशन गर्दै लक्ष्मी बाल क्लबका बालबालिकाहरु ।

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाको विभिन्न स्थानमा नाटक प्रर्दशन गरिएको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अबसर पारेर नाटक प्रर्दशन गरिएको हो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाको अधिकारका लागि नाटक प्रर्दशन गरिएको हो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक बालबालिकाको कथामा नाटक ‘लैङ्गिक पहिचान’ प्रर्दशन गरिएको हो । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अबसरमा गुराँस गाउँपालिका–४ घोडाबास बजारमा शनिवार नाटक ‘लैंगिक पहिचान’ प्रर्दशन गरिएको छ ।

सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सञ्चालित एलजिविटिआई परियोजनाको सहयोग तथा लक्ष्मी बाल क्लबको आयोजनामा नाटक प्रर्दशन गरिएको हो । बाल क्लबका पदाधिकारी तथा सदस्यहरुद्धारा अभिनित नाटक शुक्रवार लक्ष्मी मावीमा प्रर्दशन गरिएको थियो ।

यस्तै गुराँस गाउँपालिका–१ सेफ्टीस्थित भगवती मावीमा पनि नाटक ‘लैङ्गिक पहिचान’ प्रर्दशन गरिएको छ । लाँलीगुराँस बाल क्लबको आयोजनामा शुक्रवार नाटक प्रर्दशन गरिएको थियो ।

सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सञ्चालित एलजिविटिआई परियोजनाको सहयोग तथा लाँलीगुराँस बाल क्लबको आयोजनामा प्रर्दशन गरिएको नाटकमा लाँलीगुराँस बाल क्लबका पदाधिकारी तथा सदस्यहरुले अभिनय गरेका थिए ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाले घर, समाज र विद्यालयमा भोग्नु परेको घृणा, तिरस्कार, दुव्र्यवहार तथा पीडालाई नाटकमा देखाउन खोजिएको छ । नाटकमा फरक लैंगिक पहिचानका कारण बालबालिकाहरु विद्यालय जानबाट बञ्चित हुनुपरेको कथा समेत समेटिएको एलजिविटिआई परियोजनाका संयोजक सजना सुनारले बताइन् ।

परियोजना संयोजक सुनारका अनुसार नाटकमार्फत ‘छोरा वा छोरी भन्दा फरक लैंगिक पहिचान हुनु सामान्य हो । यो प्राकृतिक देन हो, जसलाई हामीले स्वीकार गर्नुपर्छ । कोही जन्मदा छोरी भएपनि हुर्कने बढ्ने क्रममा छोरी भन्दा भिन्न हाउभाउ, व्यवहार र स्वभाव हुनसक्छ भने जन्मदा छोरा भएपनि हुर्कने बढ्ने क्रममा छोरा भन्दा भिन्न व्यवहार र स्वभाव हुनसक्छ जुन एकदमै सामान्य हो’ भन्नेबारे घरपरिवार, समाज र विद्यालयमा सचेतना फैलाउन खोजिएको छ ।

‘नाटकमार्फत फरक लैंगिक पहिचान हुनु कुनै पूर्व जन्मको पाप वा मानसिक विचलन होइन् भन्नेबारे समुदायमा सचेतना फैलाउन खोजिएको छ,’ परियोजना संयोजक सुनारले भनिन् ‘छोरा र छोरी भन्दा फरक व्यवहार देखाउने बालबालिकालाई पनि अन्य बालबालिका सरह माया, अवसर र अधिकार दिनुपर्छ भन्ने सन्देश नाटकले दिएको छ ।’

‘कुनै पनि बालबालिका जात, वर्ण, धर्म, फरक भाषा र अपाङ्गता होस् या फरक लैङ्गिक पहिचानका कारण अधिकारबाट बञ्चित हुनु हुँदैन्,’ परियोजना संयोजक सुनारले भनिन् ‘सबै बालबालिका समान रुपमा बाँच्न पाउनु पर्छ र अधिकारको महसुस गर्न पाउनुपर्छ भन्ने सन्देशसहित विद्यालय र समुदायस्तरमा नाटक प्रर्दशन गरिएको हो ।’

प्रतिक्रिया