लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : महिलाविरुद्ध हुने हिंसामध्ये घरेलु हिंसा मुख्य !

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : महिलाविरुद्ध हुने हिंसामध्ये घरेलु हिंसा मुख्य !

दैलेख : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । मङ्सिर ९–२४ (नोभेम्बर २५–डिसेम्बर १०) सम्म विश्वभर महिला हिंसाविरुद्ध विभिन्न जागरणमूूलक कार्यक्रम आयोजना गरी हिंसा अन्त्यका लागि आवाज बुलन्द गरिँदै आएको छ । यस सन्दर्भमा नेपालमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोगसहित महिला तथा किशोरीको क्षेत्रमा काम गर्ने थुपै्र संघसंस्थाले बिहीबारदेखि १६ दिनसम्म हिंसाविरुद्ध विविध कार्यक्रम गर्दै छन् ।

दैलेखमा पनि सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरु तय गरेका छन् । नेपालले लैङ्गिक हिंसाविरुद्धको अभियानका लागि यस वर्ष ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारा तय गरेको छ भने ‘अरेन्ज द वल्र्ड : इन्ड भ्वाइलेन्स एगेन्स् वुमन नाउ’ भन्ने अन्तर्राष्ट्रिय नारा रहेको     छ ।

सरकारले सामाजिक सचेतनासहित लैङ्गिक हिंसाविरुद्धको अभियान प्रभावकारी बनाउने उद्देश्यले सङ्घ, प्रदेश, जिल्ला समन्वय समिति, ७५३ स्थानीय तहदेखि वडास्तरीय, विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्न आह्वानसमेत गरेको छ ।

अभियानको सन्दर्भमा १६ दिनसम्म देशभर लैङ्गिक हिंसा निवारणका असल अभ्यास, न्यायको पहुँच, महिलामाथि हिंसा हुने हानिकारक अभ्यास, कोभिड–१९ को असरलगायतका विषयमा अन्तरक्रिया गरिनेछ । साथै सन्देशमूूलक होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत सन्देश दिएर महिला हिंसाविरुद्ध जागरणमूूलक कार्यक्रम आयोजना गरिने भएको छ ।

अभियानको सुरुवात

नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिकका तीन साहसिक दिदीबहिनी (प्याट्रिया, मिनर्भा र मारिया)ले समानताको आवाज उठाउँदा त्यहाँको तत्कालीन तानाशाहको निर्देशनमा उनीहरूको हत्या भएको थियो । ल्याटिन अमेरिकी देशहरूले तीन दिदीबहिनीको साहसको कदर गर्दै २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थाल्यो ।

त्यसको तीन दशकपछि १७ डिसेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने घोषणा ग¥यो । त्यसपछि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका दिनलाई हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा विश्वभर जागरणमूूलक कार्यक्रम आयोजना गरी मनाइँदै आएको छ । नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाइँदै आएको छ ।

महिलाविरुद्धको हिंसा

हिंसाले व्यक्तिको सर्वाङ्गीण विकासमा बाधा पार्छ । यसबाट व्यक्ति, परिवार, समाज र देशकै प्रगतिमा समेत असर पुग्छ । यस्ता गतिविधिको अन्त्य घरबाटै सुरु गर्नुपर्ने नारासहित यस वर्षको महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ ।

महिलाविरुद्धको हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गका आधारमा हुने हिंसाजन्य कार्य हो; जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउँछ । त्यसैगरी महिलाले पारिवारिक जीवनदेखि सार्वजनिक क्षेत्रमा विविध हिंसाको सामना गर्नु परेको स्थिति छ । हिंसाले महिला प्रभावित हुनु भनेको घर, परिवार र अन्त्यमा देशलाई नै विकासको गतिमा पछि धकेल्ने काम हो ।

राष्ट्रिय महिला आयोगका अनुसार महिलाविरुद्ध हुने हिंसामध्ये घरेलु हिंसा मुख्य छ । परिवारका सदस्यले दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना घरेलु हिंसा हो । आयोगमा ११४५ हेल्प लाइनको व्यवस्था भएपछि विगत चार वर्षमा पाँच हजार ५१५ हिंसाका उजुरी दर्ता भएका छन्, तीमध्ये ८७ प्रतिशत घरलु हिंसाको रहेको छ । तथ्याङ्कअनुसार घरेलु हिंसाबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, कम पढेका र आर्थिक रूपले परनिर्भर महिला बढी प्रभावित छन् ।

प्रतिक्रिया