सरसफाईले फेरियो ग्रामिण बस्तीको मुहार

सरसफाईले फेरियो ग्रामिण बस्तीको मुहार

दैलेख : चिटिक्क परेका गाउँका घर । सबै घरमा व्यवस्थित शौचालय । भाँडा माँझ्ने जुठ्यान र सुकाउँने चाङको व्यवस्थापन । गाई भैसीको मलमुत्र व्यवस्थापनदेखि सुधारिएको चुल्हो समेत हरेक घरमा निर्माण भएका छन् । यतिमात्र होइन, खेर गएको पानीको सदुपयोग गर्न बनाईएका करेसाबारीले हरेक घरको सोभा बढाएको छ । सरसफाईको यी व्यवस्थापनले अहिले ग्रामिण बस्तीको मुहार फेरिएको छ । पूर्ण सरसफाई अभियान सञ्चालन भएसँगै दैलेखको भैरबी गाउँपालिकाका विभिन्न गाउँटोलहरुको मुहार फेरिएको हो ।

तीनै गाउँटोलहरुलाई हालै पूर्ण सरसफाई युक्त क्षेत्र घोषणा गरिएको छ । पालिकाभित्रका २ वटा खानेपानी योजनाबाट लाभान्वित क्षेत्रलाई पूर्ण सरसफाई युक्त क्षेत्र घोषणा गरिएको हो । पालिकाका अध्यक्ष प्रेमबहादुर बुढा, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना सहयोग इकाई दैलेखका जलस्रोत सल्लाहकार हरि सापकोटा लगाएत जनप्रतिनीधि तथा समुदायको सहभागितामा विविध कार्यक्रम सहित सरसफाई युक्त क्षेत्र घोषणा भएको छ ।

सोहि अबसरमा पालिकाका अध्यक्ष बुढाले सफा र व्यवस्थित घर र आँगनले गाउँटोलको शोभा बढाएको बताए । उनले गाउँपालिका क्षेत्रका गाउँटोलहरु सफा र सुन्दर देखाउन स्थानीयले गरेको मेहनत सम्मानयोग्य रहेको समेत बताए ।

पालिका र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा निर्माण भएको भैरबी गाउँपालिका–६ र १ स्थित काउलेओडार तुसारेपानी र धुरस्याधाराखोला खानेपानी तथा सरसफाई योजना क्षेत्र पूर्ण सरसफाई युक्त बनेका हुन् । काउलेओडार तुसारेपानीका ६८ र धुरस्याधाराखोलाका ५४ घरका उपभोक्ताहरुले पूर्ण सरसफाईका ७ वटा सूचकहरु पुरा गरेका छन् । चर्पीको प्रयोग तथा व्यवस्थापन, ब्यक्तिगत सरसफाई, खानेपानीको व्यवस्थापन, सुरक्षित खाना खाने व्यवहार, घरायसी सरसफाई, महिनावारी भएको बेला सरसफाई र वातावरणीय सरसफाईका सुचकहरु पुरा भएका हुन् ।

समुदायको सरसफाईमा सक्रियता देखाएपछि पालिका र परियोजनाले १ सय २२ घरधुरीलाई सरसफाई सामग्रीहरु बाल्टिन, हापिक, फिनायल, शौचालय ब्रस, साबुन राख्ने सोपकेश उपलब्ध गराईएको छ । परियोजनाका अनुसार हरेक टोलका ३ देखि ४ घरधुरीलाई पुग्ने गरी एक वटा धारा समेत निर्माण गरिएको छ ।

प्रतिक्रिया